इन्द्रजात्राका लागि भक्तपुरबाट लिङ्गो ल्याइँदै
काठमाडौं । काठमाडौंको ऐतिहासिक तथा सांस्कृतिक पर्व इन्द्रजात्राका लागि आवश्यक लिङ्गो ल्याउने तयारी गरिएको छ। इन्द्रजात्रामा विधिपूर्वक ठड्याइने लिङ्गोका लागि आवश्यक काठ परम्पराअनुसार छनोट गरी काठमाडौं ल्याउन लागिएको हो। भक्तपुरको चित्तपोल वनबाट इन्द्रध्वजको लिङ्गो उठाउन रुख काट्ने परम्परा रहिआएको छ ।
इन्द्रजात्राको मुख्य आकर्षणका रूपमा रहेको लिङ्गो हनुमानढोका दरबार परिसरमा ठड्याइने गरिन्छ। लिङ्गो ठड्याएसँगै इन्द्रजात्राका विभिन्न धार्मिक तथा सांस्कृतिक गतिविधि सुरु हुने गर्छन्।
परम्पराअनुसार लिङ्गो ल्याउने, पूजा गर्ने र ठड्याउने छुट्टाछुट्टै विधि रहेका छन्। लिङ्गो ल्याउने क्रममा विभिन्न बाजागाजा तथा सांस्कृतिक झाँकीसमेत प्रस्तुत गरिने भएकाले यसलाई जात्राको महत्त्वपूर्ण पक्षका रूपमा लिइन्छ।
इन्द्रजात्रा काठमाडौं उपत्यकाको प्रमुख सांस्कृतिक पर्व हो। विशेषगरी काठमाडौंको हनुमानढोका क्षेत्रमा विभिन्न देवीदेवताको पूजा, कुमारी, गणेश तथा भैरवको रथयात्रा र अन्य सांस्कृतिक गतिविधि आयोजना हुने गर्छन्। लिङ्गो ठड्याउने परम्पराले इन्द्रजात्राको औपचारिक सुरुआतको संकेत गर्ने भएकाले यसको धार्मिक तथा सांस्कृतिक महत्त्व रहेको संस्कृतिविद्हरू बताउँछन्।
