भोटेकोशी बाढी : एक हजार ३ सय ८४ शव फेला
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते गएको विनाशकारी बाढीमा परी हालसम्म एक हजार ३८४ जनाको शव फेला परेको छ। प्रहरी प्रधान कार्यालय नक्सालले आज सार्वजनिक गरेको विवरणअनुसार रसुवामा १८५, नुवाकोटमा १९९, धादिङमा ७०, चितवनमा ३६४, गोरखामा ७७, तनहुँमा ३८, नवलपरासी पूर्वमा २२९ र नवलपरासी पश्चिममा २२२ जनाको शव फेला परेको हो।
केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेका अनुसार फेला परेका शवको पहिचानका लागि डिएनए नमूना सङ्कलनलगायत आवश्यक प्रक्रिया पूरा गरी हालसम्म एक हजार २३० शव व्यवस्थापन गरिएको छ । पहिचान प्रक्रिया पूरा नभएका शवलाई सुरक्षित रूपमा माटोमुनि राखिएको प्रहरीले जनाएको छ ।
शव पहिचानका लागि मृतकका एक हजार २८६ र आफन्तका एक हजार ८४६ गरी कुल तीन हजार १३२ वटा डिएनए नमूना सङ्कलन गरिएको छ । यसैगरी पहिचान हुन नसकेका एक हजार ३३९ शवको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत सार्वजनिक गरिएको प्रहरीले जनाएको छ ।
बाढी प्रभावित क्षेत्रमा उद्धार, खोजी, राहत वितरण तथा शव व्यवस्थापनलगायतका कार्यका लागि हालसम्म सात हजार ९७५ जना प्रहरी कर्मचारी परिचालन गरिएको प्रवक्ता काफ्लेले बताए । प्रहरी प्रधान कार्यालयका अनुसार बाढीपछि हालसम्म चार हजार ८९ जना बेपत्ता छन् । उनीहरूको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ । विभिन्न जिल्लामा स्थापना गरिएका होल्डिङ सेन्टरमा हाल दुई हजार ७१२ जनालाई राखिएको प्रहरीले जनाएको छ ।
