ईभी कारमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु
काठमाडौं । भरतपुर महानगरपालिका–९ स्थित बसन्तचोक नजिकै ईभी कारमा आगलागी हुँदा कारभित्र रहेका एक जनाको जलेर मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार शुक्रबार बिहान करिब ६ बजे बसन्तचोकस्थित पूर्व–पश्चिम राजमार्गको सर्भिस लेनमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–०३० च ५५७९ नम्बरको ईभी कारमा अचानक आगलागी भएको हो।
आगलागीपछि कारभित्र रहेका एक व्यक्ति बाहिर निस्कन नसकेको र आगो नियन्त्रणमा लिएपछि उनको शव कारभित्रै जलेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। मृतकको पहिचान भने अहिलेसम्म खुल्न सकेको छैन।
दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइए पनि आगलागीबाट कार पूर्णरूपमा जलेर क्षतिग्रस्त भएको छ। कारमा कसरी आगो लागेको हो भन्नेबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ। प्रहरीले मृतकको पहिचान खुलाउने तथा घटनाको वास्तविक कारण पत्ता लगाउने प्रयास भइरहेको जनाएको छ।
