शीघ्रातिशीघ्र पृथ्वी राजमार्ग सञ्चालन गर्ने तयारीमा सरकार

काठमाडौं ।  पृथ्वी राजमार्गअन्तर्गत कृष्णभिर क्षेत्रमा अवरुद्ध सडकमा भदौ महिनाभित्रै यातायात सेवा सञ्चालनमा ल्याउनेगरी सरकारले निर्माण कार्य तीव्र बनाएको छ । प्रधानमन्त्री वालेन्द्र शाहले भदौ १७ गते प्रतिनिधिसभामा सम्बोधनको क्रममा बताउनुभएअनुसार भदौको अन्तिमसम्ममा निर्माण सम्पन्न गरी यातायात सहज बनाउने लक्ष्यसाथ काम अघि बढाइएको हो।

कृष्णभिरमा पहाड काटेर करिब २५० मिटर नयाँ ट्रयाक निर्माण गर्न १० वटा मेसिन र ३० जना कर्मचारी खटाइएका छन्। सशस्त्र प्रहरी बल, नेपालले निर्माण क्षेत्रमा फ्लडलाइट जडान गरिदिएको छ, जसका कारण रातको समयमा समेत गरी दैनिक १२ देखि १४ घण्टासम्म काम भइरहेको प्रधानमन्त्रीको सचिवालयका सदस्यहरुको भनाइ छ ।

नयाँ ट्रयाकसँगै पहिरो रोकथामका लागि माथि र तल दुवैतर्फ तीव्र गतिमा काम भइरहेको छ । यस मार्गका अन्य ५ स्थानमा गएको पहिरो पन्छाउने र दुईतर्फी यातायात खुलाउने काम साथै भइरहेको छ। भदौ १० गते बाढीका कारण कृष्णभिर क्षेत्रको सडक कमजोर बनेको थियो। त्यसपछि फेरि भदौ १४ गते भोटेकोशीको बाढीले सडक भासिएपछि सोही दिन सरकारी टोलीद्वारा स्थलगत निरीक्षण गरी प्रधानमन्त्री तथा पूर्वाधारमन्त्रीबिच मर्मतबारे छलफल भएको थियो।

यसैक्रममा सडक विभाग र नेपाल जियोटेक्निकल सोसाइटीका प्राविधिकहरूले चार दिनसम्म द्रुत अध्ययन गरी कृष्णभिरको पहाड काटेर २५० मिटर नयाँ ट्रयाक बनाउने पहिलो विकल्प सुझाएका थिए। कृष्णभिर क्षेत्रमा बाटो अवरुद्ध हुँदा उपत्यकामा ग्यास, चिनीसहितका अत्यावश्यक सामग्रीको कमी देखिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर