राजमार्ग अवरुद्ध, नारायणगढ–मुग्लिन सडकमा आंशिक रोक
काठमाडौं । वर्षा तथा बाढीपहिरोका कारण देशका विभिन्न राजमार्गमा यातायात प्रभावित भएको छ। केही सडकखण्ड पूर्ण रूपमा अवरुद्ध छन् भने केहीमा निश्चित समय तोकेर सवारी सञ्चालनको व्यवस्था गरिएको प्रहरीले जनाएको छ।
काभ्रेपलाञ्चोक–सिन्धुलीअन्तर्गत खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्डमा भदौ १६ गतेदेखि १० टन तौलसम्मका मालबाहक तथा ढुवानीका साधन बेलुका ७ बजेदेखि बिहान ५ बजेसम्म सञ्चालन हुनेछन्। निजी तथा सार्वजनिक यात्रुवाहक सवारी साधन भने बिहान ४ बजेदेखि बेलुका ६ बजेसम्म सञ्चालन हुने व्यवस्था गरिएको छ।
मकवानपुरका विभिन्न राजमार्गमा भदौ १६ गतेदेखि १० चक्कासम्मका मालबाहक तथा ठूला यात्रुवाहक सवारी साधन त्रिभुवन राजपथ हुँदै काठमाडौं जाने र फर्किँदा कान्ति राजमार्ग हुँदै फर्किने व्यवस्था गरिएको छ। कान्ति राजमार्ग हुँदै हेटौंडातर्फ आउने यात्रुवाहक सवारी साधनले साँझ ६ बजेसम्म इलाका प्रहरी कार्यालय ठिङ्गन चेकपोस्ट पार गरिसक्नुपर्नेछ।
१४ सिटभन्दा कम क्षमताका साना यात्रुवाहक सवारी साधन हेटौंडातर्फ आउँदा फर्पिङ–फाखेल–कुलेखानी हुँदै भीमफेदी र काठमाडौं जाँदा भीमफेदी–कुलेखानी–सिस्नेरी–दक्षिणकाली हुँदै जान सक्ने व्यवस्था गरिएको छ। त्रिखण्डीनजिकको बेलिब्रिजको भारवहन क्षमता कमजोर रहेकाले इन्धन तथा भारी मालबाहक सवारी साधनलाई पुल प्रयोग नगरी नजिकैको डाइभर्सनबाट जान प्रहरीले आग्रह गरेको छ।
नुवाकोटको टोखा–छहरे सडकखण्डमा अत्यावश्यक सेवाबाहेक अन्य सार्वजनिक तथा निजी सवारी साधनको रातिको आवतजावतमा रोक लगाइएको छ। भदौ १ गतेदेखि अर्को सूचना जारी नभएसम्म राति १० बजेदेखि बिहान ५ बजेसम्म उक्त सडकखण्डमा सवारी सञ्चालन पूर्ण रूपमा बन्द गरिएको प्रहरीले जनाएको छ।
रसुवाको पासाङ ल्हामु सडकखण्ड पनि पूर्ण रूपमा अवरुद्ध छ। उत्तरगया गाउँपालिका–५ खाल्टेस्थित त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी जाने कच्ची सडकखण्डमा असार ८ गते त्रिशूली नदीले सडकको मुनिबाट कटान गरेपछि सडक अवरुद्ध भएको थियो। त्यसपछि असार १० गते आएको बाढीले सडकको अधिकांश भाग नष्ट गरेको प्रहरीले जनाएको छ।
रसुवा र नुवाकोट हुँदै रसुवागढी नाकासम्म जाने मुख्य पासाङ ल्हामु राजमार्ग पनि असार १० गते आएको बाढीका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ। त्रिशूली नदी किनारका अधिकांश भाग कटान भएपछि राजमार्ग अवरुद्ध भएको हो। स्याफ्रुबेंसीसम्म जान काठमाडौं–टोखा–छहरे–विदुर–नुवाकोट दरबार–फलाँटे–चोकदे–लच्याङ–सरमथली–पार्च्याङ–भोर्ले–० किमि–कालिकास्थान–स्याउबारी–राम्चे–सोले–धुन्चे हुँदै स्याफ्रुबेंसीसम्मको सिंगल लेन कच्ची सडकलाई वैकल्पिक मार्गका रूपमा प्रयोग गर्न सकिने जनाइएको छ।
धादिङको पृथ्वी लोकमार्गअन्तर्गत बेनिघाट रोराङ गाउँपालिका–७ कृष्णभीरमा भदौ १४ गते त्रिशूली नदीले सडक कटान गरेपछि सडक भासिएर राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।
