विभिन्न स्थानका राजमार्गमा यातायात प्रभावित
काठमाडौं । लगातारको वर्षा, बाढी, पहिरो तथा सडक भासिनेलगायतका कारण देशका विभिन्न स्थानका राजमार्ग तथा सडकखण्डमा यातायात प्रभावित भएको छ। केही सडक पूर्ण रूपमा अवरुद्ध छन् भने केहीमा एक लेनबाट सवारी सञ्चालन भइरहेको छ। प्रहरीले विभिन्न सडकखण्डको अवस्थाबारे जानकारी दिँदै वैकल्पिक मार्ग तथा सवारी सञ्चालनको समय तालिका सार्वजनिक गरेको छ।
काभ्रेपलाञ्चोक–सिन्धुली जोड्ने बीपी राजमार्गअन्तर्गत खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्डमा गत भदौ १६ गतेदेखि बेलुका ७ बजेदेखि बिहान ५ बजेसम्म १० टनसम्मका मालबाहक तथा ढुवानीका साधन सञ्चालन हुनेछन्। निजी तथा सार्वजनिक यात्रुवाहक सवारी भने बिहान ४ बजेदेखि बेलुका ६ बजेसम्म सञ्चालन हुने प्रहरीले जनाएको छ।
मकवानपुरका विभिन्न राजमार्गमा पनि सवारी सञ्चालनका लागि छुट्टै व्यवस्था गरिएको छ। १० चक्कासम्मका मालबाहक तथा ठूला यात्रुबाहक सवारी त्रिभुवन राजपथ हुँदै काठमाडौं जाने र फर्किँदा कान्ति राजमार्ग प्रयोग गर्ने व्यवस्था मिलाइएको छ। कान्ति राजमार्ग हुँदै हेटौंडातर्फ आउने यात्रुवाहक सवारीले साँझ ६ बजेसम्म मकवानपुरको इलाका प्रहरी कार्यालय ठिङ्गन चेकपोस्ट पार गरिसक्नुपर्नेछ।
१४ सिटभन्दा कम क्षमताका साना यात्रुवाहक सवारी हेटौंडातर्फ आउँदा फर्पिङ–फाखेल–कुलेखानी हुँदै भीमफेदी र काठमाडौं जाँदा भीमफेदी–कुलेखानी–सिस्नेरी–दक्षिणकाली मार्ग प्रयोग गर्न सकिने प्रहरीले जनाएको छ। त्रिखण्डी नजिकको बेलीब्रिजको भारवहन क्षमता कमजोर रहेकाले इन्धन तथा भारी मालबाहक सवारीलाई उक्त पुल प्रयोग नगरी नजिकैको डाइभर्सन प्रयोग गर्न भनिएको छ।
विपद्जन्य अवस्था रहेकाले अत्यावश्यक अवस्थामा मात्र यात्रा गर्न, सवारी चालकले आफ्नो पालोमा अनुशासनपूर्वक सवारी चलाउन, ओभरटेक नगर्न तथा ट्राफिक व्यवस्थापनमा खटिएका सुरक्षाकर्मी र ट्राफिक प्रहरीको निर्देशन पूर्ण रूपमा पालना गर्न प्रहरीले आग्रह गरेको छ।
नुवाकोटको टोखा–छहरे सडकखण्डमा वर्षाका कारण अत्यावश्यक सेवाबाहेक अन्य सवारी साधनको रातिको आवतजावत रोकिएको छ। गत भदौ १ गतेदेखि अर्को सूचना जारी नभएसम्म राति १० बजेदेखि बिहान ५ बजेसम्म सार्वजनिक तथा निजी सवारी साधनको आवतजावत पूर्ण रूपमा बन्द गरिएको छ।
रसुवाको पासाङ ल्हामु राजमार्ग पनि पूर्ण रूपमा अवरुद्ध भएको छ। उत्तरगया गाउँपालिका–५ खाल्टेस्थित त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी सडकखण्डमा त्रिशूली नदीले सडकमुनिबाट कटान गरेपछि बाटो अवरुद्ध भएको थियो। त्यसपछि आएको बाढीका कारण सडकको अधिकांश भाग नष्ट भएको प्रहरीले जनाएको छ।
