पहिरोले कालीगण्डकी राजमार्ग अवरुद्ध
काठमाडौं । पहिरोका कारण कालीगण्डकी करिडोर राजमार्ग अवरुद्ध भएको छ । अविरल बर्षापछि कालीगण्डकी गाउँपालिका –२ राक्सेमा पहिरो खस्दा मंगलबार बिहानदेखि सडक पूर्णरूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।
कालीगण्डकी करिडोरतर्फ प्रहरीचौकी पूर्तीघाटबाट प्रहरी सहायक निरीक्षक बाबुराम श्रेष्ठको नेतृत्वमा प्रहरी टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी तथा प्रहरी नायब निरीक्षक वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिनुभयो।
सडक विभाग, सम्बन्धित स्थानीय तह र सुरक्षाकर्मीको समन्वयमा डोजर प्रयोग गरी पहिरो पन्छाउने काम भइरहेको प्रहरीले जनाएको छ। मुख्य सडक मार्गमा यातयात सञ्चालन प्रभावित हुँदा यात्रुलाई समस्या भएको छ। पहिरो पन्छाएर सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ । त्यस्तै, मदन भण्डारी राजमार्गअन्तर्गत गुल्मीदरबार गाउँपालिका –३ घुम्तीमा सडक माथिबाट पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो । सो सडक अहिले सञ्चालनमा आएको छ।
