मौसम : विभिन्न स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज मंगलबार दिउँसो तथा राति पनि देशका विभिन्न स्थानमा मध्यमदेखि भारीसम्म वर्षा हुने प्रक्षेपण गरेको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम महाशाखाले आज बिहान ८ बजे जारी गरेको अद्यावधिक बुलेटिनअनुसार दिउँसो देशका हिमाली र पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षा/हिमपातको सम्भावना छ।
लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा तथा मधेस प्रदेश साथै कोसी, बागमती र गण्डकी प्रदेशका तराई भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ। देशका पहाडी भूभाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ।
यसैगरी राति कोसी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थानमा तथा लुम्बिनी कर्णाली र सुदुरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा र पहाडी भूभागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षा/हिमपातको सम्भावना छ। कोसी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा तथा मधेस प्रदेश प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ। कोसी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका थोरै तथा लुम्बिनी प्रदेशका पहाडी र तराई भूभागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ।
मौसम महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा अझै सरदर स्थानभन्दा केही उत्तरतिर छ। अर्थात् नेपालनजिकै नै छ। मनसुनी रेखा नजिक हुँदा वर्षाको सम्भावना बढ्ने मौसमविद् बताउँछन्।
