नेपालमा असन्तोष बढ्ने अमेरिकी आँकलन, आफ्ना नागरिकलाई सतर्क रहन सल्लाह
काठमाडौं । अमेरिकी विदेश मन्त्रालयले नेपालमा यात्रा गर्ने आफ्ना नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ। नेपालमा नागरिक अशान्ति र स्थानीय स्तरमा अचानक प्रदर्शन हुन सक्ने जोखिम रहेको भन्दै उसले यात्रा चेतावनी जारी गरेको हो। अमेरिकी विदेश मन्त्रालयले दुई दिनअघि अद्यावधिक गरेको ‘ट्राभल एडभाइजरी’ मा नेपाललाई लेभल २ अर्थात् बढ्दो सतर्कता अपनाउनुपर्ने देशको सूचीमा राखेको छ।
मन्त्रालयका अनुसार सेप्टेम्बर २०२५ मा सुरू भएका देशव्यापी प्रदर्शनहरू अहिले रोकिएर अहिले नेपालको समग्र सुरक्षा अवस्था स्थिर छ। तर विशेषगरी सहरी क्षेत्रमा प्रदर्शन तथा स्थानीय अशान्ति अचानक हुन सक्ने जोखिम अझै कायम रहेको चेतावनी दिइएको छ।
‘प्रदर्शनहरू थोरै वा कुनै पूर्वसूचनाबिनै सुरु हुन सक्छन् । ती छिट्टै हिंसात्मक बन्न सक्छन्,’ यात्रा चेतावनीमा भनिएको छ। यात्रुहरूलाई ठूलो भीडभाड र प्रदर्शनबाट टाढा रहन तथा स्थानीय प्रशासन र सुरक्षा निकायले जारी गरेका निर्देशन पालना गर्न आग्रह गरिएको छ।
रसुवाको सीमावर्ती क्षेत्रमा नजान आग्रह
अमेरिकी विदेश मन्त्रालयले रसुवाको रसुवागढी-टिमुरे-स्याफ्रुबेँसी क्षेत्र तथा नेपाल-चीन सीमा नाका क्षेत्रमा कुनै पनि कारणले यात्रा नगर्न पनि आग्रह गरेको छ। बाढीबाट भएको क्षति, यातायात र सञ्चार सेवा अवरुद्ध हुनु, खोज तथा उद्धार र पुनःस्थापना कार्य जारी रहनु तथा थप बाढी र पहिरोको जोखिमका कारण उक्त क्षेत्रलाई उच्च जोखिमयुक्त मानिएको छ।
स्वास्थ्य सेवाको क्षमतामाथि पनि चिन्ता
यात्रा चेतावनीमा नेपालका स्वास्थ्य सेवाको सीमित क्षमताबारे पनि उल्लेख गरिएको छ। काठमाडौंका अस्पतालहरू देशका अन्य स्थानको तुलनामा राम्रो भए पनि भीडभाड हुने, आवश्यक उपकरण वा औषधिको अभाव हुन सक्ने र उपचारअघि नै भुक्तानी गर्नुपर्ने अवस्था आउन सक्ने चेतावनी दिइएको छ।
नेपाल सरकारले विदेशी नागरिकको उपचार खर्च व्यहोर्ने व्यवस्था नरहेको भन्दै अमेरिकी नागरिकलाई आवश्यक औषधि साथमा राख्न, स्वास्थ्य तथा आपत्कालीन उद्धारसमेत समेट्ने यात्रा बीमा गर्न र गम्भीर उपचारका लागि आवश्यक परे अर्को देश जानुपर्ने अवस्था आउन सक्नेबारे तयारी अवस्थामा रहन आग्रह गरिएको छ।
बाढी, पहिरो र भूकम्पको जोखिम
अमेरिकी विदेश मन्त्रालयले नेपाल प्राकृतिक प्रकोपको उच्च जोखिममा रहेको पनि जनाएको छ। नेपालमा नियमित रूपमा भूकम्प, बाढी र पहिरो जाने गरेको तथा काठमाडौं उपत्यकासमेत भूकम्पको जोखिममा रहेको उल्लेख गरिएको छ।
मनसुनको समयमा जुनदेखि सेप्टेम्बरसम्म हुने भारी वर्षाले आकस्मिक बाढी र पहिरो निम्त्याउन सक्ने चेतावनी दिइएको छ। यस्ता घटनाले सडक अवरुद्ध गर्न, भवनमा क्षति पुर्याउन र आपत्कालीन अवस्थामा सहायता पाउन कठिन बनाउन सक्ने मन्त्रालयले जनाएको छ।
अमेरिकी विदेश मन्त्रालयले नेपाल यात्रा गर्ने नागरिकलाई यात्रा अघि स्थानीय सुरक्षा अवस्था र मौसमसम्बन्धी जानकारी अद्यावधिक राख्न तथा सम्भावित प्राकृतिक प्रकोप र आकस्मिक अवस्थाका लागि तयारी अवस्थामा रहन आग्रह गरेको छ।
