बाढीपहिरोले मुख्य राजमार्गमा यातायात प्रभावित
काठमाडौं । बाढी तथा पहिरोका कारण काठमाडौं उपत्यका र आसपासका विभिन्न जिल्लामा मुख्य राजमार्ग तथा सडकखण्ड अवरुद्ध भएका छन्। उपलब्ध विवरणअनुसार ललितपुर, काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट र धादिङका विभिन्न स्थानमा सडक अवरुद्ध भएको हो।
ललितपुरको बागमती गाउँपालिका–३ भट्टेडाँडास्थित कान्ति लोकपथमा पहिरो खसेपछि सडक पूर्णरूपमा अवरुद्ध भएको छ।
काभ्रेको खुकुटे–नेपालथोक–कटुञ्जेबेँसी सडकखण्डमा सम्भावित बाढीको जोखिमका कारण सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। त्यस्तै, रोशी गाउँपालिका क्षेत्रमा बीपी राजमार्गमा समेत यातायात प्रभावित भएको विवरणमा उल्लेख छ।
सिन्धुपाल्चोकको चौतारा क्षेत्रमा अरनिको राजमार्गअन्तर्गत त्रिपुरासुन्दरी मेलुङ र स्याउबारी सडकखण्ड पूर्णरूपमा अवरुद्ध भएको छ। नुवाकोटको शिवपुरी गाउँपालिका–८ शिखरबेँसी तथा बेलकोटगढी क्षेत्रमा पनि पहिरोका कारण सडक अवरुद्ध भएको जनाइएको छ।
धादिङको बेनिघाट रोराङ गाउँपालिका–७ कृष्णभीर र गजुरी गाउँपालिका–२ घैराभीर क्षेत्रमा पृथ्वी लोकमार्ग पहिरोका कारण पूर्णरूपमा बन्द भएको छ।
सडक अवरुद्ध भएका कारण सम्बन्धित क्षेत्रमा सवारी आवागमन प्रभावित बनेको छ। सडकको अवस्था हेरेर मात्र यात्रा गर्न तथा सम्बन्धित निकायबाट जारी हुने सूचनालाई ध्यान दिन आग्रह गरिएको छ। वर्षाका कारण सडक अवरोध बढ्न सक्ने भएकाले यात्रुले थप सावधानी अपनाउनुपर्ने देखिएको छ।

