भग्नावशेष भवनमा अनधिकृत प्रवेश नगर्न प्रहरीको चेतावनी
काठमाडौं । नेपाल प्रहरीले बाढीबाट क्षतिग्रस्त तथा भग्नावशेषमा परिणत भएका घर तथा भवनमा उद्धारका नाममा अनधिकृत रूपमा प्रवेश नगर्न चेतावनी दिएको छ।
न्युज एजेन्सी नेपालसँग हिजो आइतबार कुरा गर्दै केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी अविनारायण काफ्लेले प्रहरीको उपस्थितिमा मात्रै क्षतिग्रस्त घर तथा भवनभित्र खोज तथा तलासी गर्न पाइने बताए ।
उनका अनुसार विपद्को अवस्थालाई अवसर बनाएर आपराधिक गतिविधि गर्ने व्यक्तिमाथि प्रहरीले निगरानी बढाएको छ। आपराधिक मनसायले कोही व्यक्ति भग्नावशेष वा खण्डहर भवनमा प्रवेश गरेको देखिए तत्काल प्रहरीलाई खबर गर्न उहाँले नागरिकलाई आग्रह गरे ।
प्रवक्ता काफ्लेले विपद्सम्बन्धी गलत तथा मिथ्या सूचना फैलाउने गतिविधिमाथि समेत प्रहरीले निगरानी गरिरहेको बताए । त्यस्ता गतिविधिमा संलग्न भएको पाइएमा कानुनबमोजिम कारबाही गरिने उनको भनाइ छ। उनले भने, “बाढीबाट भग्नावशेष तथा खण्डहर बनेका भवनमा अनावश्यक रूपमा, अनधिकृत रूपमा छिर्न कानुनद्वारा वर्जित छ। रेस्क्युको नाममा गलत गतिविधि गर्न पाइँदैन, कानुन उल्लङ्घन गर्न पाइँदैन।”
प्रहरीको उपस्थितिमा मात्रै घर तथा भवनभित्र खोज तथा तलासी गरिने स्पष्ट पार्दै उनले विपद्को फाइदा उठाएर नाजायज गतिविधि गर्ने तथा कानुन उल्लङ्घन गर्ने व्यक्तिमाथि नेपाल प्रहरीले कडा निगरानी गरिरहेको बताए । प्रवक्ता काफ्लेले विपद्का विषयमा गलत वा मिथ्या सूचना प्रवाह गर्ने गतिविधिप्रति पनि प्रहरी गम्भीर रहेको जनाए । त्यस्ता गतिविधिमा कोही संलग्न भएको पाइएमा कानुनबमोजिम कारबाही हुने उनले स्पष्ट पारे ।
यसैगरी, राहत सामग्री वितरणका नाममा विभिन्न गतिविधि भइरहेको भन्दै उहाँले सरकारको निर्णयअनुसार एकद्वार प्रणालीबाट मात्रै राहत वितरण गर्न आग्रह गरे । उनले राहत वितरण गर्न चाहने व्यक्ति तथा संस्थालाई स्थानीय तह र जिल्ला सुरक्षा समितिसँग समन्वय गरेर मात्रै राहत वितरण गर्न आग्रह गरे ।
“नेपाल सरकारले एकद्वार प्रणालीबाट राहत वितरण गर्ने निर्णय गरिसकेको र त्यसअनुसारको कार्यविधि समेत भएको कारण त्यसलाई फलो गर्नुपर्छ। आफ्नो राहत स्थानीय निकायमा गएर त्यहाँको स्थानीय सरकार र जिल्ला सुरक्षा समितिसँग समन्वय गरेर मात्र वितरण गरौँ,” उनले भने ।
