चिनियाँ राष्ट्रपतिको सन्देश : यो दुःखमा नेपाल एक्लै छैन

काठमाडौं ।   चीनले रसुवामा गएको भोटेकोसी बाढीमा नेपालले भोगेको क्षतिप्रति दुःख व्यक्त गर्दै यो विपत्तिमा नेपालको साथमा रहेको सन्देश पठाएको छ।

प्रधानमन्त्री राहत कोषमा चीन सरकारको तर्फबाट घोषणा भएको सहयोग रकम हस्तान्तरण गर्न आइतबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेटेका चिनियाँ राजदूत झाङ माओमिङले सन्देश सुनाए हुन्। चिनियाँ राष्ट्रपति सी चिनपिङ र चीनका प्रधानमन्त्री ली छियाङको सन्देश सुनाउँदै उनले विपत्तिमा नेपालको साथमा रहेको बताए।

‘बाढीको विपत्तिका कारण नेपालमा ज्यान गुमाउनुभएका नागरिकप्रति चिनियाँ राष्ट्रपति सी चिनपिङ र प्रधानमन्त्री ली छियाङले गहिरो दुःख व्यक्त गर्नुभएको छ। बाढीमा ज्यान गुमाएकाप्रति उहाँहरूले श्रद्धाञ्जली अर्पण गर्नुभएको छ,’ राष्ट्रपति र प्रधानमन्त्रीको सन्देश सुनाउँदै राजदूत माओमिङले भने, ‘यो दुःखमा नेपाल एक्लै छैन। चीन नेपाल र नेपाली जनताको साथमा छ।’

यससँगै राजदूत माओमिङले विपद् पछिको उद्धार र राहतमा चीन सरकारले सहयोग निरन्तर जारी राख्ने बताए। अर्थ मन्त्रालयमा अर्थमन्त्री डा. वाग्लेलाई भेटेर चिनियाँ राजदूत झाङ माओमिङले झन्डै साढे ३० करोड नेपाली रुपैयाँ (२० लाख अमेरिकी डलर) को चेक हस्तान्तरण गरेका छन्। त्यस्तै, राजदूत माओमिङले चिनियाँ रेडक्रसले उपलब्ध गराएको तीन करोड ६ लाख रुपैयाँ बराबर (दुई लाख अमेरिकी डलर) को नगद सहयोग पनि हस्तान्तरण गरेका छन्।

राहत रकम हस्तान्तरण गर्दै राजदूत माओमिङले हिमालय क्षेत्रमा आएको विशाल प्रलयका कारण नेपाल र चीनले भोगेको विपत्तिको सामना दुवै देशले मिलेर गर्ने बताए। उनले नेपालका लागि चीन सरकारले घोषणा गरेका अन्य प्रकारका सहायता सामग्री पनि नेपाल भित्रिन सुरु भइसकेको जानकारी दिए।

आइतबार मात्रै दुई वटा चिनियाँ जहाजले ५० टन टेन्ट, ब्ल्यांकेट, स्लिपिङ ब्याग, मेडिकल किट र बिस्कुटजस्ता सहायता सामग्री काठमाडौँमा ओरालेको राजदूत माओमिङले बताए। थप सहयोग पनि निरन्तर गरिने उनको भनाइ छ। रसुवाको बाढीका कारण चीनतर्फ नै रोकिएका नेपालीलाई मुस्ताङको कोरोला नाका भएर नेपाल फिर्ता ल्याउनका लागि पहल भइरहेको पनि उनले अर्थमन्त्री डा. वाग्लेलाई अवगत गराएका छन्।

त्यस्तै, जलविद्युत कम्पनीको सुरुङमा फसेकाहरूको उद्धारका लागि शनिबार नै चिनियाँ हेलिकप्टरसहितको दक्ष जनशक्ति नेपाल आएको जानकारी गराउँदै राजदूत माओमिङले थप दक्ष उद्धार प्राविधिकहरू आज नेपाल आइपुगेको बताए। नेपाल सरकारले उद्धारका लागि माग गरेको ठूलो परिमाणमा सामान बोक्न सक्ने ड्रोन नेपाल ल्याउनका लागि चीन सरकारले द्रूत गतिमा काम गरिरहेको उनले जानकारी दिएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर