त्रिशूली–३ ‘ए’ मा प्रतिकूल अवस्थामा पनि उद्धार कार्य जारी
काठमाडौं । बाढीका कारण माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनामा फसेका व्यक्तिहरूको उद्धार कार्य सरकारले गएको रातभरि निरन्तर जारी राखेको छ । तर, आज आइतबार बिहान करिब ४ बजे आयोजना क्षेत्रमा पुनः बाढी आएपछि त्रिशूली नदीको जल सतह ५ देखि १० मिटरसम्म बढेको छ ।
नदीको जलसतह अत्यधिक बढेपछि आयोजना क्षेत्रको किनारमा तीव्र कटान हुन थालेको छ । सरकारले पूर्ण सतर्कताका साथ आयोजना क्षेत्रको समग्र क्षति तथा परिस्थितिको अवलोकन गरिरहेको छ । माटो तथा लेदो हटाउन डोजर र अन्य भारी उपकरण पुनः परिचालन गर्ने तयारी गरिएको छ । बाढीका कारण सडक पहुँचसमेत अवरुद्ध भएकाले उद्धार तथा व्यवस्थापन कार्यमा थप चुनौती देखिएको छ ।
यसैगरी, पहिरो र माटोले पुरिएको माथिल्लो त्रिशूली–३ ‘ए’ आयोजनाको टनेल पोर्टल तथा पावर हाउसको निगरानी गर्ने १९ वटा सीसीटीभी क्यामेरा, एचडीआर तथा सेटअप बक्स सुरक्षित रूपमा निकाल्न हेलिकप्टरमार्फत ‘स्पेसल फोर्स’ परिचालन गर्ने तयारी गरिएको छ । सडक पहुँच अवरुद्ध भएकाले पुरिएको भवननजिकै हेलिकप्टरमार्फत टोली उतारेर ती महत्त्वपूर्ण उपकरण निकाल्ने तयारी गरिएको छ ।
