पृथ्वी राजमार्गको कृष्णभीरमा सडक बगाएपछि अवरुद्ध

काठमाडौं ।  त्रिशूली नदीमा आएको बाढीले पृथ्वी राजमार्गको कृष्णभीरमा सडक बगाएपछि राजमार्ग अवरुद्ध भएको छ । पृथ्वी राजमार्ग निर्माण आयोजनाका मुग्लिनस्थित इन्जिनियर धिरज ढकालका अनुसार त्रिशूली नदीमा आएको बाढीले कृष्णभीर नजिकै सडक बगाएपछि राजमार्ग अवरुद्ध भएको हो ।

‘‘पृथ्वी राजमार्ग अहिले कुनै पनि अवस्थामा सञ्चालन गर्न सकिने अवस्थामा छैन,’’ उहाँले भन्नुभयो । त्रिशूली नदीले तलबाट ‘फ्लो कटिङ’ गर्दा सडक बगेको हो । नदीले करिब ५० मिटर लम्बाइसम्म सडक बगाएको र कतिपय स्थानमा पाँच मिटरसम्म सडक कटान भएको उहाँले जानकारी दिनुभयो । कतिपय स्थानमा सडक चिरिएकाले थप भासिने सम्भावना रहेको उहाँले बताउनुभयो ।

‘‘राजमार्ग खुलाउने विकल्प डाइभर्सन हो । तर, कृष्णभीरमा विगतमा पहिरोले धेरै दुःख दिएकाले त्यहाँबाट डाइभर्सन निर्माण गर्ने सम्भावना कम छ । बगेकै स्थानमा ‘टो वाल’ बनाएर सडक सञ्चालन गर्न समय लाग्ने भएकाले राजमार्ग खुल्न केही समय लाग्नेछ,’’ उहाँले भन्नुभयो ।

केही समयअघि सडक बगेपछि अहिले पृथ्वी राजमार्गमा सवारीसाधन सञ्चालन बन्द गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका ट्राफिक प्रहरी निरीक्षक अनिल थापाले पृथ्वी राजमार्गको वैकल्पिक मार्ग प्रयोग गरी काठमाडौँ जान सर्वसाधारणलाई अनुरोध गर्नुभएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर