त्रिशूली–३ ‘ए’ को सुरुङमा ३५ जना फसे, उद्धारमा गृहमन्त्री गुरुङ
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा फसेका नागरिकको उद्धारका लागि गृहमन्त्री सुधन गुरुङ आफैँ घटनास्थलमा खटिनुभएको छ।
बाढीका कारण आयोजनाको सुरुङ प्रवेशद्वारमा माटो तथा ढुंगा थुप्रिएपछि सुरुङभित्र रहेका कर्मचारी तथा अन्य व्यक्ति बाहिर निस्कन नसकेको खबरपछि उद्धार कार्य तीव्र पारिएको हो। प्रारम्भिक विवरणअनुसार हाइड्रो इन्जिनियरसहित ३५ जना सुरुङभित्र फसेका छन्।
सुरुङको प्रवेशद्वारमा थुप्रिएको माटो तथा ढुंगा हटाउन मिनी स्काभेटर आवश्यक परेको सूचना प्राप्त भएपछि आवश्यक उपकरणसहित उद्धार टोली परिचालन गरिएको छ। गृहमन्त्री गुरुङको नेतृत्वमा नेपाली सेना तथा सशस्त्र प्रहरीका सुरक्षाकर्मी घटनास्थलमा खटिएर सुरुङको बाटो खुलाउने तथा फसेकाहरूलाई सुरक्षित रूपमा बाहिर निकाल्ने प्रयास गरिरहेका छन्।
सुरुङभित्र फसेकाहरूको अवस्था थप जोखिमपूर्ण बन्न नदिन उद्धार टोलीले रातिको समयमा समेत कामलाई निरन्तरता दिएको छ। सुरुङभित्र अक्सिजनको मात्रा घट्न सक्ने जोखिम रहेकाले उद्धार कार्यलाई उच्च प्राथमिकताका साथ अघि बढाइएको जनाइएको छ।
यसअघि पनि बाढीका कारण विभिन्न जलविद्युत् आयोजनाका सुरुङ तथा संरचनामा मानिसहरू फसेका थिए। नेपाली सेनाले माथिल्लो त्रिशूली क्षेत्रको अर्को सुरुङबाट सयौँ मानिसको उद्धार गरिसकेको जनाएको छ। अझै केही व्यक्ति फसेको हुनसक्ने आशंकामा खोज तथा उद्धार कार्य जारी राखिएको छ। फसेकाहरूलाई सकुशल उद्धार गर्ने लक्ष्यसहित सुरक्षाकर्मी तथा प्राविधिक टोलीले जोखिमका बाबजुद उद्धार अभियानलाई तीव्रता दिएका छन्।
