मुख्यमन्त्री थापाको समन्वयमा धुन्चेमा फसेकाको उद्धार कार्य

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण धुन्चेमा अलपत्र व्यक्तिलाई स्थलमार्गबाट पनि उद्धार गरिएको छ । धुन्चेमा रहेका तीर्थयात्री, पर्यटक एवं सर्वसाधारणलाई बागमती प्रदेश सरकारले वैकल्पिक मार्ग प्रयोग गरी काठमाडौं ल्याउने व्यवस्था मिलाएको हो । यसका लागि मुख्यमन्त्री किरण थापा मगरले समन्वय गरेका थिए ।

मुख्यमन्त्री थापाले भने, ‘धुन्चेमा रोकिएका सर्वसाधारणलाई हामीले त्यहीँ खाना खुवाउने व्यवस्था गरेका छौँ, खाना खुवाइसकेपछि उहाँहरूलाई मोटरमार्फत महावीरसम्म पुर्‍याउने र महावीरबाट करिब एक घण्टा पैदल हिँडेपछि चौगटी पुर्‍याएर त्यहाँबाट पुनः सवारीसाधनमार्फत काठमाडौं पठाउनेकार्य गरेका छौँ ।’ उनले उद्धारका पर्खाइमा रहेका अलपत्र यात्रुलाई प्रदेश सरकारले निःशुल्क बसको व्यवस्था गरेर काठमाडौं आइपुग्न सक्ने अवस्था गरेको बताए ।

धुन्चेसँगै चौगटीमा सर्वसाधारणका लागि खानाको व्यवस्था प्रदेश सरकारले नै मिलाएको उनले जानकारी दिए । त्यसैगरी बागमती प्रदेश सरकारले त्रिशूली पारिको क्षेत्रमा अवरुद्ध रहेको मध्यपहाडी लोकमार्ग मरमतलाई गरेर यातायात सञ्चालनमा ल्याउने प्रयास थालनी गरेको बताए । उक्त सडक सञ्चालनमा आएपछि रसुवालगायत प्रभावित क्षेत्रका सर्वसाधारणले वैकल्पिक रूपमा सोही मार्ग प्रयोग गरी काठमाडौं आउन सक्ने जनाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर