नागढुंगा–मुग्लिनदेखि जाजरकोट–डोल्पासम्म सडक अवरुद्ध

काठमाडौं । अविरल वर्षासँगै आएको बाढी तथा पहिरोका कारण देशका विभिन्न स्थानका राजमार्ग तथा सडकखण्ड अवरुद्ध भएका छन्। नेपाल प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार काठमाडौँ उपत्यकासहित कोशी, बागमती र कर्णाली प्रदेशका सडकमा यातायात प्रभावित भएको छ।

काठमाडौँमा नागढुंगादेखि मुग्लिन सडकखण्ड बाढीको सम्भावित जोखिमका कारण पूर्णरूपमा रोक लगाइएको छ। कोशी प्रदेशको इलाममा पहिरोका कारण मेची राजमार्गअन्तर्गत इलाम–झापा जोड्ने सडकखण्ड पूर्णरूपमा अवरुद्ध रहेको प्रहरीले जनाएको छ।

बागमती प्रदेशमा पनि बाढीपहिरोका कारण विभिन्न सडक प्रभावित छन्। काभ्रेमा बीपी राजमार्गको खुर्कोट–नेपालथोक–कटुञ्जेबेसी सडकखण्डमा बाढीको जोखिमका कारण निश्चित समयसम्म सम्पूर्ण सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। मकवानपुरमा हेटौंडा–भीमफेदी–बागमती–ललितपुर सडक तथा कान्तिलोकपथ क्षेत्रमा पनि रातिको समयमा सवारी आवागमनमा रोक लगाइएको छ।

त्यस्तै, रसुवामा उत्तरगया गाउँपालिका–५ खाल्टेस्थित त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी सडकखण्ड बाढीका कारण लामो समयदेखि पूर्णरूपमा अवरुद्ध छ। रसुवाकै मुख्य राजमार्गसमेत अर्को सूचना नभएसम्मका लागि पूर्णरूपमा बन्द गरिएको छ।

नुवाकोटमा पनि सम्भावित बाढी तथा पहिरोको जोखिमलाई मध्यनजर गर्दै शिवपुरी गाउँपालिका–८ घट्टेखोलास्थित टोखा–छहरे सडकखण्डमा रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ।

धादिङमा बेनीघाट रोराङ गाउँपालिका–१० ज्वाङखोला लगायतका क्षेत्रमा पृथ्वी राजमार्ग प्रभावित भएको जनाइएको छ। चितवनमा मुग्लिन–नारायणगढ सडकखण्ड पनि बाढीका कारण पूर्णरूपमा अवरुद्ध रहेको प्रहरीले जनाएको छ।

कर्णाली प्रदेशअन्तर्गत रुकुम पश्चिममा आठबिसकोट नगरपालिका–६ स्थित जाजरकोट–डोल्पा सडकखण्ड पनि बाढीका कारण पूर्णरूपमा अवरुद्ध छ।

प्रहरीले वर्षाका कारण सडकमा जुनसुकै बेला पहिरो तथा बाढी आउन सक्ने भएकाले यात्रा गर्नुअघि सडकको अवस्था बुझेर मात्र यात्रा गर्न तथा जोखिमयुक्त क्षेत्रमा विशेष सावधानी अपनाउन आग्रह गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर