विभिन्न स्थानमा १७७ जनाको शव भेटियो

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण हालसम्म १७७ जनाको शव फेला परेको छ।

नेपाल प्रहरीका अनुसार विहिबार बिहान १० बजेसम्मको अपडेट अनुसार १७७ जनाको शव फेला परेको हो। जसमा रसुवामा २, नुवाकोटमा १२, धादिङमा २७, चितवनमा ६९, गोरखामा २०, तनहुँमा ९, नवलपरासी पूर्वमा ३२ र नवलपरासी पश्चिममा ६ जनाको शव फेला परेको छ।

यसैबीच, रसुवाका विभिन्न स्थानमा कार्यरत प्रहरीमध्ये ठूलो संख्या अझै सम्पर्कमा नआएको नेपाल प्रहरीले जानकारी दिएको छ। टिमुरेमा कार्यरत २३ प्रहरीमध्ये १३ जना सम्पर्कमा आएका छन्। रसुवागढीमा कार्यरत ९ जनामध्ये १ जना, स्याफ्रुबेँसीमा कार्यरत ८ जनामध्ये ५ जना, मैलुङमा कार्यरत ८ जनामध्ये ३ जना, बेत्रावतीमा कार्यरत १० जनामध्ये ९ जना र हाकुमा कार्यरत ६ जनामध्ये ५ जना सम्पर्कमा आएका छन्। विवरणअनुसार हालसम्म २८ जना प्रहरी सम्पर्कमा नआएको जनाइएको छ।

सम्पर्कविहीन हुनेमा नेपाल प्रहरीका २८, नेपाली सेनाका ४४ र सशस्त्र प्रहरी बलका १३ जनासहित सर्वसाधारणसमेत रहेका छन्।  अहिलेसम्मको विवरणअनुसार बाढीबाट ५७९ जना पर्यटक प्रभावित भएका छन्। रसुवाको धुन्चेतर्फबाट हेलिकोप्टरमार्फत १२३ जनाको उद्धार गरिएको छ, जसमा १४ नेपाली र १०९ विदेशी नागरिक रहेका छन्।

बाढी प्रभावित रसुवा, नुवाकोट, धादिङ, गोरखा, नवलपरासी पूर्व, तनहुँ, चितवनलगायत क्षेत्रमा मानवीय तथा भौतिक क्षतिको विवरण संकलन भइरहेको र सडक, पुल, जलविद्युत्, सञ्चार तथा खानेपानीका संरचनामा समेत ठूलो क्षति पुगेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर