भोटेकोशीमा बाढी : मुग्लिनसम्म हाइ अलर्ट, १२३४ मा तत्काल सम्पर्क गर्न आग्रह
काठमाडौं । रसुवाको भोटेकोसी नदीमा तिब्बततर्फबाट ठूलो बाढी प्रवेश गरेपछि गृह मन्त्रालयले नदी तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
मन्त्रालयले अर्को सूचना जारी नभएसम्म भोटेकोसी र त्रिशूली नदीको तटीय क्षेत्र मुग्लिनसम्म उच्च जोखिममा रहेको जनाएको छ। रसुवा, धादिङ, गोरखा, चितवन र नुवाकोटका नदी तटीय क्षेत्रमा बसोबास गर्ने परिवारलाई तत्काल सुरक्षित स्थानमा रहन आग्रह गरिएको छ।
सम्भावित खोज तथा उद्धार आवश्यक परेमा वा कुनै प्रकारको सहायता आवश्यक भएमा टोल फ्री नम्बर १२३४ मा तत्काल सम्पर्क गर्न गृह मन्त्रालयले अनुरोध गरेको छ।
बाढीको जोखिमलाई मध्यनजर गर्दै मन्त्रालयले प्रमुख सडकखण्डमा समेत आवागमन रोक्न आग्रह गरेको छ। पृथ्वी राजमार्ग, गल्छी–नुवाकोट–रसुवा–स्याफ्रुबेसी सडक तथा मुग्लिन–नारायणगढ सडकमा यात्रा नगर्न र उक्त सडकखण्डमा आवतजावत पूर्ण रूपमा रोक्न भनिएको छ।
मन्त्रालयले नदीको जलस्तर अचानक बढ्न सक्ने भएकाले नदी तथा खोलाको किनारमा नबस्न र सुरक्षित स्थानमा जान आग्रह गरेको छ। साथै, स्थानीय प्रशासन तथा सुरक्षा निकायले जारी गर्ने आधिकारिक सूचनाको पालना गर्नसमेत अनुरोध गरिएको छ।
