प्रधानमन्त्री बालेनले किन कालो चस्मा लगाउँछन् ?

काठमाडौं । प्रधानमन्त्री बालेन शाह भोलि बुधबार दिउँसो १ बजे प्रतिनिधिसभा बैठकमा उपस्थित हुने भएका छन् । सांसदहरूसँग प्रत्यक्ष प्रश्नोत्तर हुने बैठकमा प्रधानमन्त्री शाह कालो चस्मा लगाएरै सहभागी हुने तयारीमा छन् ।

सभामुख डोलप्रसाद अर्यालले प्रमुख सचेतक र सचेतकमार्फत् सांसदहरूलाई कालो चस्मा लगाएर बैठकमा उपस्थित नहुन आग्रह गरेका थिए । स्वास्थ्यका कारण कालो चस्मा लगाउनुपर्ने अवस्था भए स्वास्थ्य परीक्षणको रिपोर्टसहित त्यसको कारण खुलाउन सभामुखले आग्रह गरेका थिए । सभामुखको उक्त आग्रहपछि पनि प्रधानमन्त्री शाहले कालो चस्मा लगाउनुपर्ने कारण खुलाउँदै संघीय संसद सचिवालयलाई पत्र पठाएका छन् । उनले आँखामा समस्या भएकाले कालो चस्मा लगाउनुपरेको उल्लेख गर्दै स्वास्थ्य परीक्षणको रिपोर्टसमेत सचिवालयमा पठाएका हुन् ।

उज्यालोमा हेर्न असहज भएपछि प्रधानमन्त्री शाहले साउन २२ गते नेपाली सेनाको छाउनीस्थित सैनिक अस्पतालमा आँखाको परीक्षण गराएका थिए । उनको आँखा परीक्षण लेफ्टिनेन्ट कर्णेल डा. सचित ढकालले गरेका थिए । परीक्षण रिपोर्टअनुसार प्रधानमन्त्री शाहलाई उज्यालोमा हेर्न कठिन हुने समस्या देखिएको छ । साथै, आँखा सुक्खा हुने भएकाले समय-समयमा आइड्रप प्रयोग गर्नुपर्ने उल्लेख गरिएको छ ।

यही स्वास्थ्य अवस्थाका कारण कालो चस्मा लगाउनुपर्ने भएको भन्दै प्रधानमन्त्रीले संसद सचिवालयलाई जानकारी गराएका हुन् । अब उक्त स्वास्थ्य रिपोर्टसहित प्रधानमन्त्री शाह बुधबारको प्रतिनिधि सभा बैठकमा कालो चस्मामै उपस्थित हुने भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर