नेपालमा काम नपाएपछि पश्चिमका युवा भारत पलायन
काठमाडौं । पश्चिम नेपालमा खेतीपातीको समय सकिएसँगै भारतको जमुनाहा नाका भएर रोजगारीका लागि त्यसतर्फ जाने नेपाली युवाको सङ्ख्या दिनानुदिन बढ्दै गएको छ । कर्णाली र लुम्बिनी प्रदेशका पहाडी जिल्लाका सयौँ युवा दैनिक रोजगारीका लागि भारततर्फ गइरहेको नेपाल–भारत नाकामा रहेको इलाका प्रहरी कार्यालय जमुनाहले जनाएको छ ।
इलाका प्रहरी कार्यालय, जमुनाहका प्रमुख प्रहरी निरीक्षक राजन भट्टराईले केही दिन यता आएर रोजगारीका लागि भारत जाने नेपालीको लर्को सीमानामा लागिरहेको बताए । भारतको शिमलालगायतका ठाउँमा स्याउ पाकेकाले सो टिप्न र ओसार पसार गर्न धेरै नेपाली युवा त्यसतर्फ गइरहेको इलाका प्रहरी कार्यालय जमुनाहाले जनाएको छ ।
भारततर्फ जाने नेपालीको सङ्ख्या बढेसँगै उनीहरुको सुरक्षाका लागि नेपाल–भारत नाका जमुनाहा र भारत रूपैडिहाको बसपार्कमा सुरक्षा व्यवस्था मिलाइएको सो कार्यालयले जनाएको छ । अहिले कामको खोजीमा भारत जाने नेपालीहरु हुल बाँधेर नाकामा पुगिरहेका छन् । प्रहरीका अनुसार बिहान ६ बजेदेखि बेलुका ७ बजेसम्म नेपालीहरु भारत प्रवेश गरिरहेका छन् ।
भारत जानेहरुमा अधिकांश शिमला, अमृतसर, चंडीगढ, हरिद्वार र जयपुरतर्फ गएका छन् । नेपालमा काम नपाएपछि बाध्य भएर फेरि कामका लागि भारत जानु परेको सीमानामा भेटिएका अधिकांश युवाको भनाइ छ । जमुनाहा नाकामा भेटिएका जाजरकोट ढिमेका दलबहादुर विकले खेतीपाती सकिएपछि स्वदेशमा कुनै काम नभएपछि बाध्य भएर भारत जान थालेको बताए ।
यस्तै दैलेख नौमुलेका रमशे मल्लले रोजगारीका लागि हरिद्वार जान लागेको भन्दै अब अर्को वर्षको दसैंमा मात्र घर फर्किने योजना रहेको सुनाए । उनी जस्तै नाकामा भेटिने अधिकांश युवाले आफ्नो देशमा उपयुक्त काम नपाएपछि भारत जानुको विकल्प नहुँदा बाध्य भएर जानुपरेको दुःखेसो पोखेका छन् ।
