सहमति जुटेपछि म्यानपावर व्यवसायीको आन्दोलन स्थगित

काठमाडौं । वैदेशिक रोजगार व्यवसायीले अघि सारेका विभिन्न माग ४५ दिनभित्र सम्बोधन गर्ने सहमति भएको छ। युवा, श्रम तथा रोजगार मन्त्रालय र वैदेशिक रोजगार व्यवसायीबीच सोमबार भएको छलफलमा व्यवसायीका माग समाधान गर्न मन्त्रालय सकारात्मक भएपछि सहमति जुटेको हो।

सहमति भएसँगै वैदेशिक रोजगार व्यवसायीले भोलिदेखि नियमित रूपमा कार्यालय सञ्चालन गर्ने भएका छन्। यसअघि व्यवसायीहरूले सेवा शुल्क निर्धारण गर्नुपर्ने, वैदेशिक रोजगार विभागबाट भएका कारबाही फिर्ता लिनुपर्ने लगायत १५ बुँदे माग अघि सार्दै कार्यालय बन्द गर्नुका साथै श्रमिक पठाउने काम रोक्ने घोषणा गरेका थिए।

संघले साउन २२ गतेदेखि १५ बुँदे माग राखेर आन्दोलन तथा ध्यानाकर्षणका कार्यक्रम सञ्चालन गर्दै आएको थियो। व्यवसायीहरूको आन्दोलनका कारण वैदेशिक रोजगारीका लागि श्रमिक पठाउने प्रक्रिया प्रभावित हुने अवस्था बनेपछि मन्त्रालय र व्यवसायीबीच छलफल भएको हो।

श्रम मन्त्रालयमा मन्त्री तथा सचिवसहित वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष, सल्लाहकार तथा पदाधिकारीबीच भएको छलफलमा व्यवसायीले उठाएका मागका विषयमा विस्तृत रूपमा कुराकानी भएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार व्यवसायीले उठाएका अधिकांश माग नीति तथा कानुनसँग सम्बन्धित छन्। ती विषय वैदेशिक रोजगार ऐन तथा नियमावली संशोधनका क्रममा सम्बोधन गर्न सकिने भएकाले आवश्यक प्रक्रिया अघि बढाउन मन्त्रालय र संघबीच सहमति भएको हो।

व्यवसायीका माग सम्बोधनका लागि ४५ दिनभित्र आवश्यक पहल गर्ने सहमति भएको मन्त्रालयले जनाएको छ। ऐन तथा नियमावली संशोधनमार्फत सम्बोधन गर्नुपर्ने विषयमा आवश्यक प्रक्रिया अघि बढाउने र अन्य मागका सम्बन्धमा समेत छलफल गरी समाधान खोजिने भएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर