देउवा समूहको निष्कर्ष : सनातन धर्म राष्ट्रिय पहिचान
काठमाडौं । नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहको सम्मेलनले पार्टीको आगामी १५ औँ महाधिवेशन शेरबहादुर देउवाकै सभापतित्व र नेतृत्वमा सम्पन्न गर्ने निर्णय गरेको छ।
तीन दिनसम्म चलेको यो समूहको सम्मेलनले चौधौँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको निर्णय र आयोजनामा १५ औँ महाधिवेशन गराइने तथा सभापति देउवाकै नेतृत्वमा पार्टी एकताबद्ध बनाएर लैजाने निष्कर्ष निकालेको छ।
महाधिवेशन नभएसम्मका लागि पार्टीका नियमित क्रियाकलापहरू सभापतिको निर्देशनमा राष्ट्रिय भेला तथा सम्मेलनका संयोजक सशांक कोइरालाले समन्वयमा सञ्चालन हुने निर्णय गरेको छ।
देउवा समूहले सम्मेलनमार्फत सनातन धर्मलाई राष्ट्रिय पहिचानको रुपमा अघि बढाउने प्रस्ताव पारित गरेको छ। हिन्दू, बौद्ध, किराँत तथा प्रकृति धर्मलगायतका परम्परा र संस्कृतिको संरक्षण गर्दै सनातन धर्मलाई नेपालको राष्ट्रिय पहिचानका रूपमा अघि बढाउने प्रतिबद्धता पनि व्यक्त गरेको छ। देशको वर्तमान परिस्थितिलाई मध्यनजर गर्दै राष्ट्रियता र लोकतन्त्रको सुदृढीकरणका लागि राष्ट्रिय तथा लोकतान्त्रिक शक्तिहरूसँग संवाद र सहकार्य बढाउने निर्णय गरेको छ।
त्यस्तै, वर्तमान संविधानमा जनअपेक्षाअनुसार आवश्यक संशोधन गर्न संविधानमै व्यवस्था भएबमोजिम सम्बन्धित सबै पक्षसँग संवाद गरी आवश्यक निकास दिने निर्णय गरिएको छ।
“म हिन्दु हुँ, हिन्दु, पशुपति जान्छु, पूजा गर्छु। म हिन्दु हुँ”
कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले व्यक्तिगत रूपमा आफू हिन्दु भएको उल्लेख गर्दै धार्मिक स्वतन्त्रताको पक्षमा रहेको बताएका छन्। आइतबार काठमाडौंमा जारी कांग्रेसको संस्थापन इतर पक्षको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले आफ्नो विवाह र व्रतबन्ध पनि हिन्दु परम्पराअनुसार भएको प्रस्ट पारे। अहिले कसैले पनि आफूलाई हिन्दु होइन भन्न नपाउने देउवाले बताए।
हिन्दु राज्यबारे धारणा राख्न माग आएको भन्दै देउवाले आफू हिन्दु भएको र अन्य धर्मलाई सम्मान गर्ने बताए। सम्बोधनको क्रममा गर्जिँदै उनले भने, “म हिन्दु हुँ, हिन्दु, पशुपति जान्छु, पूजा गर्छु। म हिन्दु हुँ।”

कार्यक्रममा देउवाले पार्टीको आन्तरिक विवाद र न्यायालयको भूमिकाबारे पनि चर्चा गरे। गत पुसमा सम्पन्न विशेष महाधिवेशन जबर्जस्तीरुपमा भएको उनको भनाइ थियो। धेरै नेता-कार्यकर्तालाई बाहिर राखेर गरिएको विशेष महाधिवेशन विरुद्धको अदालतमा मुद्दा विचाराधीन रहेको उल्लेख गर्दै उनले न्यायालयबाट न्याय पाउनेमा आफू पूर्ण विश्वस्त रहेको बताए।
विशेष अधिवेशनलाई आफूले मैले नमानेको भन्दै देउवाले भने, “जबर्जस्ती गरेर धेरै साथीलाई बाहिर राखियो। अदालत गयौं। अदालतको निर्णय आउन बाँकी छ। अहिले अदालतको विषयमा धेरै बोल्नुपर्ने कारण छैन।”
उनले न्यायालयबाट आफूलाई पञ्चायतदेखि राजाको शासन हुँदै अहिलेसम्म न्याय मिलेको दोहोर्याए। अहिले पनि न्यायालयले बचाएका कारण आफू स्वदेश आएको उनको भनाइ थियो। उनले भने, “सर्वोच्चले राजाले थुन्दा पनि छुटाएको हो। अहिले पनि न्यायालयले मलाई बचाएको छ। जसको कारणले म नेपालमा आएको छु।”
पूर्णबहादुर खड्का र शेखर कोइराला अनुपस्थित
भेलामा नेता पुर्व उपसभापति पूर्णबहादुर खड्का र शेखर कोइराला अनुपस्थित भएका छन् ।भेलाको उद्घाटन समारोहमा भने दुवैजना नेता उपस्थित भए पनि समापन समारोहमा नगएका हुन्। “पूर्णबहादुर खड्का र नेता शेखर कोइराला दुवैजना समापन समारोहमा उपस्थित हुनुभएन”, सहभागी एक प्रतिनिधिले भने ।
राष्ट्रिय सम्मेलनले पारित गरेको ५ बुँदा
१. १५औँ महाधिवेशनबारे:
१४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको निर्णय र आयोजनामा १५औँ महाधिवेशन सम्पन्न गर्ने तथा शेरबहादुर देउवाको सभापतित्वमा महाधिवेशन सम्पन्न हुने विश्वास सम्मेलनले व्यक्त गरेको छ। १५औँ महाधिवेशनसम्म पार्टीका आवश्यक नियमित गतिविधि देउवाको निर्देशनमा राष्ट्रिय सम्मेलनका संयोजकले समन्वय गर्ने निर्णय गरिएको छ।
२. राष्ट्रिय एकता तथा मेलमिलाप:
२०३३ सालमा बीपी कोइरालाले तत्कालीन राष्ट्रिय संकटलाई ध्यानमा राख्दै राष्ट्रिय एकता तथा मेलमिलापको नीति अघि सारेर स्वदेश फर्किएको स्मरण गर्दै वर्तमान अवस्थामा पनि राष्ट्रिय तथा लोकतन्त्रवादी शक्तिसँग संवाद र सहकार्य गर्ने प्रतिबद्धता सम्मेलनले जनाएको छ। राष्ट्रियता र लोकतन्त्रलाई सुदृढ बनाउन सक्रिय रहने प्रस्तावमा उल्लेख छ।
३. धर्म तथा संस्कृति:
नेपालको सनातनदेखि चलिआएको धर्म तथा संस्कृति राष्ट्रिय पहिचानको महत्वपूर्ण आधार भएको उल्लेख गर्दै धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र प्रत्येक व्यक्ति तथा धार्मिक समुदायको धार्मिक स्वतन्त्रता सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ। हिन्दु, बौद्ध, किरात तथा प्रकृत धर्मको संरक्षण गर्दै सनातन धर्मलाई राष्ट्रिय पहिचानका रूपमा अघि बढाउने प्रस्ताव पारित गरिएको छ।
४. संविधान संशोधन:
वर्तमान संविधानमा जनअपेक्षाअनुसार आवश्यक संशोधन गर्न संविधानमा व्यवस्था भएबमोजिम सम्बन्धित सबै पक्षसँग संवाद गरी आवश्यक निकास खोज्ने प्रस्ताव पारित गरिएको छ।
५. प्रस्तावलाई अन्तिम रूप दिने जिम्मेवारी:
सम्मेलनमा प्रस्तुत विभिन्न प्रस्ताव तथा सुझावलाई समेटेर पारित प्रस्तावलाई परिमार्जनसहित लिखित रूप दिने जिम्मेवारी केन्द्रीय सदस्य एनपी साउदको संयोजकत्वमा तोकिएको छ। समितिमा केन्द्रीय सदस्य उमाकान्त चौधरी र सीता राना सदस्य तथा मीनबहादुर विश्वकर्मा र दीपकप्रसाद कुइँकेल सहयोगी रहनेछन्।
