भारतीय प्रधानसेनापति धीरज सेठ आज नेपालमा आउँदै
काठमाडौं । भारतीय प्रधानसेनापति जनरल धीरज सेठ आज नेपाल भ्रमणमा आउँदैछन् । उच्च सरकारी स्रोतका अनुसार उनी आज अगस्ट १६ मा नेपाल आउन लागेका हुन् । जनरल सेठले गत जुन ३० मा भारतीय सेनाको प्रधानसेनापतिको जिम्मेवारी सम्हालेका थिए । प्रधानसेनापतिको जिम्मेवारी सम्हालेपछि नेपाल भ्रमणमा आउन लागेका उनको यो पहिलो भ्रमण हो ।
नेपाल र भारतबीचको सैन्य सम्बन्धअनुसार दुवै देशका प्रधानसेनापतिलाई एकअर्काको देशको मानार्थ महारथीको दर्जा प्रदान गर्ने परम्परा छ । सोही परम्पराअनुसार नेपालका प्रधानसेनापति र भारतीय प्रधानसेनापति नियुक्त भएपछि एकअर्काको देश भ्रमण गर्ने अभ्याससमेत रहँदै आएको छ ।
नेपाल र भारतीय सेनाबीच लामो समयदेखि घनिष्ठ तथा ऐतिहासिक सम्बन्ध रहँदै आएको छ । सन् १९५० देखि दुवै देशका प्रधानसेनापतिलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने परम्परा सुरु भएको नेपाली सेनाको मुख्यालय जङ्गी अड्डाले जनाएको छ ।
बहालवाला नेपाली प्रधानसेनापति अशोकराज सिग्देलले पनि भारतीय सेनाको मानार्थ महारथीको दर्जा प्राप्त गरिसकेका छन् । २७ मङ्सिर २०८१ मा नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा भारतीय राष्ट्रपति द्रौपदी मुर्मुले प्रधानसेनापति सिग्देललाई उक्त दर्जा प्रदान गरेकी थिइन् ।
