प्रधानमन्त्री र प्रधानसेनापतिबिच करिब ४० मिनेट छलफल

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिग्देलसँग भेट तथा छलफल गरेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रबार दिउँसो प्रधानमन्त्री बालेन  र प्रधानसेनापति  सिग्देलबिच करिब ४० मिनेट छलफल भएको बताइएको छ ।

रक्षा मन्त्रालयको समेत जिम्मेवारी सम्हालिरहेका प्रधानमन्त्री र प्रधानसेनापतिबीच देशको वर्तमान सुरक्षा अवस्था र समसामयिक विषयमा छलफल भएको बताइएको छ ।

गत बुधबार बसेको प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिमा भण्टी पार्टीका सांसद खगेन्द्र सुनारले गत फागुन २१ मा सम्पन्न आम चुनावका बेला प्रहरीको पोसाक खरिदमा भ्रष्टचार भएको आरोप लगाउँदै नेपाल प्रहरीका प्रमुख दानबहादुर कार्की र गृह सचिव राजकुमार श्रेष्ठलाई तत्काल राजीनामा गर्न माग गर्दै असह्य व्यवहार गरेको घटना सेलाउन नपाउँदै प्रधानमन्त्री र प्रधान सेनापतिबिच आज शुक्रबार भएको भेटलाई राजनीतिक वृत्तमा गम्भीरतापूर्वक लिइएको छ । लेखा समितिको बैठकमा सांसद सुनारलाई आइजिपी कार्की र गृह सचिव  श्रेष्ठले भद्र र शालीन र मर्यादापूर्ण जवाफ फर्काएका थिए ।

प्रतिनिधिसभाको कानून तथा मानव अधिकार समितिको आजै शुक्रबार बसेको बैठकमा गृहमन्त्री सुधन गुरुङले सांसद सुनारले सुरक्षा निकायका वरिष्ठ अधिकारीहरूमाथि गरेको असह्य व्यवहारप्रति असन्तुष्टि जनाइसकेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर