केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना
काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनको न्यूनचापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिममा सरदर स्थानभन्दा उत्तरतर्फ नेपालको नजिक रहेको छ। यसको प्रभावस्वरूप हाल मधेश प्रदेशलगायत कोशी, बागमती र गण्डकीमा साधारणतया बदली छ भने लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ।
आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी भूभागका धेरै स्थानमा र कोशी तथा बागमतीका हिमाली र पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ।
यसैगरी, लुम्बिनी र सुदूरपश्चिमका तराई भूभागका धेरै स्थानमा तथा मधेश, कोशी, बागमती र गण्डकीका तराई भूभागका केही स्थानमा पनि मध्यम वर्षाको आकलन गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली, पहाडी र तराई भूभागका थोरै स्थान तथा बागमतीको पहाडी भूभागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ। विशेषगरी कर्णाली र सुदूरपश्चिमका हिमाली र पहाडी भूभागका एक-दुई स्थानमा धेरै भारी वर्षासमेत हुन सक्ने महाशाखाले जनाएको छ।
आज राति देशका हिमाली र पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ भने तराई भूभागका थोरै स्थानमा मध्यम वर्षा हुन सक्छ। बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागका एक-दुई स्थानमा राति पनि भारी वर्षाको पूर्वानुमान गरिएको छ।
