गर्मी बढेसँगै तराईको जनजीवन प्रभावित

काठमाडौं । साउन चौँथो साता सकिन लाग्दासमेत पर्याप्त मनसुनी वर्षा हुन नसक्दा महोत्तरी सहित तराई-मधेसमा गर्मी अत्यधिक बढेको छ। केही दिनयता मध्याह्नको तापक्रम ३८ देखि ४१ डिग्री सेल्सियससम्म पुग्न थालेपछि महोत्तरीसहित मधेश प्रदेशका जिल्लाको जनजीवन प्रभावित भएको छ।

सूर्योदयदेखि साँझसम्म चर्को घाम लाग्ने र वर्षा भएलगत्तै पुनः टन्टलापुर घाम लाग्ने क्रमले गर्मी थप बढाएको स्थानीयको भनाइ छ । मध्याह्नमा घरबाहिर निस्कनसमेत कठिन हुने गरी गर्मी बढेपछि सर्वसाधारणको दैनिकी प्रभावित भएको छ। छहारीमा बस्दा पनि तर्तरी पसिना आउने र पंखाबाट समेत तातो हावा आउने गरेको उनीहरू बताउँछन्।

जल तथा मौसम विज्ञान कार्यालय जनकपुरका प्रमुख राजीव झाले मंगलबार जनकपुरधामको अधिकतम तापक्रम ४१ डिग्री सेल्सियस पुगेको बताउनुभयो । तापक्रम ४१ डिग्री पुगे पनि महसुस हुने तापक्रम करिब ४८ डिग्री सेल्सियससम्म देखिएको उहाँले जानकारी दिनुभयो।

मधेशमा मनसुन पूर्ण रूपमा सक्रिय नभएका कारण अपेक्षित वर्षा हुन नसकेको र वर्षा रोकिएलगत्तै चर्को घाम लाग्दा वाष्पीकरण बढेर गर्मी थप चर्किएको झाले बताउनुभयो। उहाँका अनुसार आगामी दुई दिनसम्म पनि गर्मीको अवस्था यस्तै रहने सम्भावना छ । बुधबार जनकपुरधामको तापक्रम ३९ देखि ४१ डिग्री सेल्सियससम्म पुग्न सक्ने अनुमान गरिएको उहाँले बताउनुभयो।

वातावरण विज्ञ अशोक यादवका अनुसार केही दिनयता तराई–मधेसमा ‘लु’ अर्थात् तातो हावाको प्रभाव बढेको छ। मधेश प्रदेशका विभिन्न जिल्लामा तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुग्न थालेकाले तातो हावाको जोखिम बढेको उहाँले बताउनुभयो। केही दिनअघि सुरु भएको यो अवस्था शुक्रबारसम्म कायम रहने उहाँको अनुमान छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर