साउदी, पाकिस्तान र टर्कीबीच रक्षा सम्झौता

काठमाडौं ।  मध्यपूर्वमा बढ्दो सैन्य तनाव र द्वन्द्वबीच साउदी अरेबिया, पाकिस्तान र टर्कीले ऐतिहासिक रक्षा सम्झौतामा हस्ताक्षर गरेका छन्। शुक्रबार तीन देशबीच ‘मक्का संयुक्त रक्षा सम्झौता’ भएको हो । यसले मध्यपूर्वको भूराजनीतिक शक्ति सन्तुलनमा ठूलो फेरबदल ल्याउन सक्ने विश्लेषकहरूले बताएका छन् । तीन देशले सामूहिक सुरक्षालाई थप मजबुत बनाउने तथा क्षेत्र र बाहिर पनि शान्ति, सुरक्षा र स्थायित्व कायम गर्ने साझा प्रतिबद्धता व्यक्त गरेका छन्।

पाकिस्तानको परराष्ट्र मन्त्रालयले यो सम्झौताको अर्थ सदस्य राष्ट्रहरूमध्ये कसैमाथि पनि हुने आक्रमणलाई सबैमाथिको आक्रमण मानिने र यसले ‘सामूहिक प्रतिरोध’लाई बलियो बनाउने स्पष्ट पारेको छ।

यो सम्झौता हुनुभन्दा एक दिनअघि मात्रै पाकिस्तानका प्रधानमन्त्री सहबाज सरिफ शक्तिशाली सेना प्रमुख असिम मुनिरसहित साउदी अरेबिया पुगेर मक्कामा उमराह गरेका थिए । त्यसलगत्तै शुक्रबार टर्कीका राष्ट्रपति रेजेप तयिप एर्दोआन पनि साउदी अरेबिया पुगेर साउदी युवराज मोहम्मद बिन सलमानसँग भेटवार्ता गरेका थिए।

गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेयता साउदी अरेबिया लगातार इरान र उसका सहयोगीहरू (यमनका हुथी विद्रोही तथा इराकका सिया सशस्त्र समूहहरू) को निशानामा पर्दै आएको छ।

यस द्वन्द्वले साउदी अरेबियाको तेल निर्यात र महत्वाकांक्षी विकास योजनाहरूलाई संकटमा पारेको छ भने दशकौँ पुरानो अमेरिकी सुरक्षा छाताको विश्वसनीयतामाथि पनि गम्भीर प्रश्न उठाएको छ।

केही वर्षयता मध्यपूर्वमा ठूलो उथलपुथल देखिएको छ, विशेष गरी अक्टोबर ७, २०२३ मा हमासले इजरायलमाथि आक्रमण गरेपश्चात र त्यसपछि गजामा भएको नरसंहारपछिको परिस्थिति निकै जटिल बनेको छ। इरान र इजरायलबीचको दशकौँ पुरानो दुश्मनी अहिले प्रत्यक्ष क्षेत्रीय युद्धमा परिणत भएको छ। यस्तो अवस्थामा मध्यपूर्वका राष्ट्रहरू आपसी पुराना मतभेदहरूलाई बिर्सिएर व्यावहारिक बाटो रोज्न थालेको अलजजीराले जनाएको छ ।

सम्झौतामा एकमाथिको आक्रमण सबैमाथिको आक्रमण मानिनेछ भनिए तापनि यो व्यावहारिक रूपमा कति लागू हुन्छ भन्ने अझै स्पष्ट छैन।  पाकिस्तानले फेब्रुअरीदेखि अफगानिस्तानसँग सीमा द्वन्द्व भोगिरहेको छ भने मे २०२५ मा भारतसँग पनि झडप भएको थियो। साउदी अरेबिया इरान र उसका सहयोगीहरूको आक्रमणको चपेटामा छ । टर्कीले देश भित्र र बाहिर कुर्दिश सशस्त्र समूहहरूसँग वर्षौंदेखि लडिरहेको छ र इजरायलसँग पनि उसको सम्बन्ध बिग्रिएको छ । यदि यमनका हुथीहरूले साउदी अरेबियामाथि आक्रमण गरे भने के त्यसमा टर्की र पाकिस्तान प्रत्यक्ष रूपमा सामेल हुन्छन्? यो भने अहिल्यै भन्न सकिने अवस्था छैन।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर