१६ जिल्लाका १९ ठाउँमा मुख्य राजमार्ग अवरुद्ध
काठमाडौं । अविरल वर्षासँगैको बाढी, पहिरो र सडक कटानका कारण देशका विभिन्न प्रमुख राजमार्ग तथा सडकखण्ड आज पनि प्रभावित भएका छन्। नेपाल प्रहरीका अनुसार अहिले देशका १९ वटा राजमार्ग पूर्ण रूपमा अवरुद्ध छन्। काठमाडौँलाई बागमती प्रदेशको राजधानी हेटौँडासँग जोड्ने कान्तीलोकपथ बाढीपहिरोले अवरुद्ध बनेको छ। बाढीपहिरोको जोखिम बढेपछि मकवानपुरको ठिँगन र ललितपुरको बागमती- ३ पाङ्दुरमा सडक अवरुद्ध रहेको प्रहरीले जनाएको छ।
त्यसैसगरी इलाममा मेची राजमार्ग, पाँचथरमा तमोर करिडोर सडक, काभ्रेमा बीपी राजमार्ग, सिन्धुपाल्चोकमा अरनिको राजमार्ग, दोलखामा लामासाँघु-रामेछाप सडक, चितवनमा पृथ्वी राजमार्ग, रसुवामा त्रिशूली मैलैङ सडक, बागलुङमा कालीगण्डकी करिडोर सडक, म्याग्दीमा बेनी-जोमसोम सडक र रुकुम पश्चिममा मध्यपहाडी लोकमार्ग अहिले पूर्णरुपमा अवरुद्ध छ।
त्यसैगरी पाल्पामा कालीगण्डकी करिडोर सडक, अर्घाखाँचीमा सन्धिखर्क- गोरुसिंगे सडक, रुकुम पश्चिममा जाजरकोट-डोल्पा सडक, मुगुमा नाम्म-गमगढी सडक र जुम्लामा पनि नाग्म-गमगढी सडक बाढीपहिरोले अवरुद्ध रहेको प्रहरीले जनाएको छ।
त्यसैगरी काठमाडौँको सितापाइला-धार्के सडक, भोजपुरमा मध्पहाडी लोकमार्ग, मनाङमा चामे-बेसीँशहर सडक र मुस्ताङमा बेनी-जोमसोम सडकमा बाढिपहिरोको कारण यतिबेला एकतर्फी मात्रै गाडी चलेका छन्। प्रहरीले वर्षा जारी रहेकाले पहिरो र बाढीको जोखिम कायमै रहेको भन्दै सडकको अवस्थाबारे जानकारी लिएर मात्रै यात्रा गर्न आग्रह गरेको छ।

