रास्वपाका मधेशी सांसदहरूको प्रश्न : सिधै गोली किन चलाइन्छ ?
काठमाडौं । रास्वपाका सांसदहरू अमरेशकुमार सिंह र शिवशंकर यादवले मधेश प्रदेशमा हुने सामान्य विवाद नियन्त्रणमा लिन पनि सुरक्षाकर्मीले किन गोली चलाइन्छ भनेर आफ्नै पार्टीको सरकारसँग असन्तोष व्यक्त गरेका छन् ।
प्रतिनिधिसभाको आज मंगलबार बसेको बैठकमा सांसद सिंह र यादवले मधेश प्रदेशमा हुने सामान्य विवादमा पनि सुरक्षाकर्मीले लाठी चार्ज नगर्ने, टियर ग्यास नहान्ने सिधै गोली प्रहार गर्ने गरेको भन्दै सरकारसँग असन्तुष्टि जनाए ।
सिंहले मधेश आन्दोलन, थरुहट आन्दोलनलगायतमा जहिले पनि सुरक्षाकर्मीले गोली प्रहार गरेको प्रसंग उठाएका थिए । ‘मेरो प्रश्न राज्यसँग छ कि मधेसमा जहिले पनि आन्दोलन हुन्छ, मधेश आन्दोलन होस् कि थरुहट आन्दोलन होस् त्यहाँ गोली मात्र किन चल्छ ?’, सिंहले प्रश्न गरे, ‘लाठी, टियर ग्यास किन चल्दैन ? दुनियाँमा नेपालबाहेक कुनै पनि देशमा प्रहरीलाई एसएलआर दिँदैन । पुलिसलाई कसैले ढुंगा हान्यो भने त्यसले त गोली हान्छ । लट्ठी छैन ?। टियर ग्यास छैन ?।’
उनले मधेसमा हजारौँ प्रहरी परिचालन गर्न बजेट हुने तर शिक्षक, डाक्टर र इन्जिनियर नियुक्त गर्न बजेट नहुनु विभेदपूर्ण नीति भएको टिप्पणी गरे। सिंहले मधेसमा हुने प्रदर्शनका क्रममा प्रहरीले अत्यधिक बल प्रयोग गर्ने गरेको आरोप लगाउँदै सुरक्षा नीतिको पुनरावलोकन आवश्यक रहेको बताए। उनले सामाजिक सद्भाव कायम राख्न सबै पक्ष संयमित हुनुपर्नेमा पनि जोड दिए।
सांसद सिंहका अनुसार मधेसका समस्या सुरक्षा दृष्टिकोणबाट मात्र नभई विकास, शिक्षा, स्वास्थ्य र संवादमार्फत समाधान गर्नुपर्ने आवश्यकता छ। उनले सरकारलाई मधेसप्रति अपनाइएको नीति पुनर्विचार गर्दै समावेशी र दीर्घकालीन समाधानतर्फ अघि बढ्न आग्रह गरे।
सांसद यादवले पनि मधेश प्रदेशमा दुई समुदायबीच सामान्य विवाद हुँदा पनि प्रहरीले गोली प्रहार गर्ने गरेको बताए । ‘लामो समयदेखि मधेशका नागरिकमाथि सामान्य विवादमा पनि गोली प्रहार गर्ने प्रवृत्ति बढिरहेको छ । त्यसको म घोर भर्त्सना गर्न चाहन्छु,’ यादवले भने, ‘लोकतन्त्रिक व्यवस्थामा नागरिकको जीवन र सुरक्षा भन्दा ठूलो कुनै पनि विषय हुन सक्दैन । दुई पक्षबीचको सामान्य विवादमा पनि गोली चलाउने प्रवृत्तिको अन्त्य गर्नुपर्छ ।’
यादवले भने, ‘घटनास्थलको अध्ययन गर्दा सुनसरीको घटनास्थलमा पनि म पुगेको छु, सिरहाको गोलबजारको पनि घटनास्थलमा पुगेको छु । कुनै पनि स्थानमा गोली चलाउने अवस्थाको सिर्जना मैले देखेको थिएन,’ यादवले भने, ‘कुनै पनि स्थानमा टाउको र छातीमा गोली हानेर साम्य पार्नुपर्ने अवस्था थिएन, तैपनि गोली प्रहार भएको छ । त्यसको निन्दा गर्न चाहन्छु ।’
साउन ४ मा कोशीको सुनसरीबाट सुरु भई मधेशका विभिन्न जिल्लामा फैलिएको हिन्दु र मुस्लिम समुदायबीचको विवादका क्रममा सुरक्षाकर्मीको गोली लागेर चार जनाको मृत्यु भएको थियो ।
