अमेरिकाले इरानमाथिको ठूलो आक्रमण रद्द गर्दा इजरायल चकित

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णय गर्ने शैली फेरि एकपटक चर्चामा आएको छ । योजनाको तयारीमा सहयोगी राष्ट्रहरूलाई सहभागी गराए पनि अन्तिम निर्णय भने एक्लै लिने र त्यसबारे अग्रिम जानकारी नदिने ट्रम्पको शैलीका कारण यसपटक इजरायल चकित बनेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

इरानविरुद्ध अमेरिका र इजरायलले संयुक्त रूपमा ठूलो सैन्य आक्रमणको तयारी गरिरहेका बेला ट्रम्पले अन्तिम समयमा उक्त योजना रद्द गरेको र त्यसबारे इजरायललाई प्रत्यक्ष जानकारी नदिएको बताइएको छ । इजरायली सञ्चारमाध्यमका अनुसार इजरायलले यो निर्णय राष्ट्रपति ट्रम्पको सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मा गरिएको पोस्टमार्फत मात्र थाहा पाएको थियो ।

इजरायलको च्यानल १२ का अनुसार इजरायलका रक्षा तथा कूटनीतिक अधिकारीहरूले इरानमाथि अमेरिकासँग मिलेर गरिने भनिएको आक्रमणको योजनाबारे आफूहरूलाई घण्टौँसम्म कुनै आधिकारिक जानकारी नदिइएको र राष्ट्रपति ट्रम्पले उक्त योजना एकतर्फी रूपमा रद्द गरेको बताएका छन् ।

ट्रम्पले पत्रकारहरूसँग कुरा गर्दै इरानमाथि हुन लागेको आक्रमण अत्यन्त ठूलो हुने बताएका थिए । उनले उक्त आक्रमण दोस्रो विश्वयुद्धपछि हुने सबैभन्दा ठूलो सैन्य कारबाही हुन सक्ने दाबी गर्दै इरान र उसका छिमेकी देशहरूले आक्रमण नगर्न आग्रह गरेपछि आफूले त्यसलाई स्थगित गरेको बताएका थिए । ट्रम्पले इरानको आणविक कार्यक्रम अन्त्य गर्ने विषयमा सम्झौताको सम्भावना अझै खुला रहेको पनि उल्लेख गरेका थिए ।

रिपोर्टअनुसार ट्रम्पले यस्तो निर्णय लिएको यो पहिलो पटक होइन । पछिल्ला केही महिनामा पनि उनले विभिन्न सैन्य तथा कूटनीतिक निर्णयहरू अन्तिम समयमा परिवर्तन गर्दै आएका छन् ।

इजरायलका एक वरिष्ठ अधिकारीले उनीहरू घण्टौँसम्म ठूलो अनिश्चिततामा रहेको भन्दै ट्रम्पले कुनै स्पष्ट जानकारी नदिएको बताएका छन् । उनका अनुसार वरिष्ठ अधिकारीहरूले सामाजिक सञ्जालमा गरिएको पोस्टबाट मात्र अमेरिकी निर्णयबारे जानकारी पाएका थिए ।

समाचारअनुसार इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु, रक्षामन्त्री इजरायल कात्ज तथा अन्य वरिष्ठ अधिकारीहरूले पनि राष्ट्रपति ट्रम्पको ‘ट्रुथ सोसल’ पोस्टमार्फत मात्र आक्रमण रद्द गरिएको थाहा पाएका थिए ।

सुरुमा इजरायली अधिकारीहरूले यसलाई इरानलाई झुक्याउन अपनाइएको रणनीतिक चाल हुन सक्ने अनुमान गरेका थिए । तर, पछि अमेरिकी अधिकारीहरूसँग भएको सम्पर्कपछि ट्रम्पले वास्तवमै आफ्नो निर्णय परिवर्तन गरेको पुष्टि भएको बताइएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर