बसको ठक्करबाट सुनकोशीमा खसेको कार यात्रुसहित बेपत्ता
काठमाडौं । मध्यपहाडी लोकमार्गअन्तर्गत सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुरमा आज सोमबार बिहान बस र कार ठक्कर खाँदा यात्रुसहित खसेको कार सुनकोशी नदीमा बेपत्ता भएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार सुनकोशी नदीमा बेपत्ता भएको कारभित्र चार जना रहेको खुलेको छ । काठमाडौंबाट ओखलढुङ्गातर्फ जाँदै गरेको यात्रुवाहक बसले बिहान करिब ११ः३० बजे कारलाई ठक्कर दिँदा कार सडकबाट करिब १५० मिटर तल सुनकोशी नदीमा खसेको थियो । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरी नायब उपरीक्षक विजय श्रेष्ठले जानकारी दिए । उनका अनुसार घटनास्थलमा प्रहरी टोली पुगेर खोजी तथा उद्धार कार्यलाई तीव्र बनाइएको छ ।
सुनकोशी नदीमा बाढीका कारण बेपत्ता यात्रु र कारको खोजी तथा उद्धार कार्य प्रभावित भएको प्रहरीले जनाएको छ । बेपत्ता यात्रु तथा कारको उद्धारका लागि आवश्यक उपकरणसहित सशस्त्र प्रहरी बलको बेस क्याम्प खुर्कोटबाट गोताखोर टोली, नेपाल प्रहरी र अन्य सुरक्षा निकाय समेत घटनास्थलमा खटिएर खोजी तथा उद्धार कार्यमा जुटेका प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले जानकारी दिए । (तस्बिरः सांकेतिक)
