कर्णालीको मुख्यमन्त्रीमा मंगलबहादुर शाही नियुक्त

काठमाडौं । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा संसदीय दलका नेता मंगलबहादुर शाही नियुक्त हुनु भएको छ । प्रदेश प्रमुख यज्ञराज जोशीले हिजो मंगलबार शाहीलाई कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गर्नु भएको हो । उहाँ यो प्रदेशको पाँचौँ मुख्यमन्त्री बन्नुभएको छ।

नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश प्रमुख जोशीले शाहीलाई मुख्यमन्त्रीमा नियुक्त गर्नु भएको हो । नेकपा संसदीय दलका नेता समेत रहनु भएका शाहीलाई मुख्यमन्त्री नियुक्त गर्नका लागि नेपाली कम्युनिष्ट पार्टी नेकपाका १४ र नेकपा एमालेका १० जना प्रदेश सभा सदस्यले समर्थन गर्नु भएको थियो ।
दुबै दलको निर्णय र बहुमत सदस्यको समर्थनका आधारमा प्रदेश प्रमुख जोशीले मुख्यमन्त्रीमा नियुक्त गर्नु भएको प्रदेश प्रमुखको कार्यालयका प्रवत्ता भिमराज थानीले जानकारी दिनु भएको छ । नेकपा र एमालेबीच भएको सत्ता गठबन्धनमा कर्णाली प्रदेशको मुख्यमन्त्री नेकपाले लिने सहमति अनुसार शाही मुख्यमन्त्री बन्नु भएको हो ।
यसअघि आजै शाहीले गठबन्धनमा रहेका नेकपा एमालेका १० र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का १४ सहित २४ प्रदेश सभा सदस्यको हस्ताक्षरसहित आफूलाई मुख्यमन्त्री बनाउन आजै दाबी पेस गर्नु भएको थियो । कर्णालीमा सरकार गठनका लागि २१ जना सांसदको आवश्यकता पर्छ ।
४० सदस्यीय प्रदेशसभामा नेपाली कांग्रेसका १५, नेकपाका १४, एमालेका १० र एक जना राप्रपाका सदस्य छन् । शाही मुगु प्रदेशसभा ‘ख’बाट निर्वाचित हुनु भएको थियो । यसअघि कर्णाली सरकारको भौतिक पूर्वाधार तथा सहकारी विकासमन्त्री भएर काम गरिसक्नु भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर