रहेनन् कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठ
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन भएको छ। श्रेष्ठको मंगलबार दिउँसो निधन भएको नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले बताए। केही समयअघि अस्पतालले मृत्यु भएको घोषणा गरेको पौडेलले जानकारी दिए।
लामो समयदेखि बिरामी रहेका श्रेष्ठको उपचार चलिरहेको थियो। मंगलबार ललितपुरको हेलियस अस्पतालमा उपचारका क्रममा निधन भएको हो। श्रेष्ठको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि बुधबार बिहान सानेपास्थित नेपाली कांग्रेसको केन्द्रीय कार्यालय राखिने भएको छ। त्यसपछि शवयात्रासहित पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने जनाइएको छ।
८३ वर्षीय श्रेष्ठ पूर्वमन्त्री पनि हुन्। उपप्रधानमन्त्रीसमेत बनेका उनी शिक्षा, वन तथा भूसंरक्षण, उद्योग र भौतिक योजना तथा निर्माणमन्त्री पनि बनेका थिए। २०१७ सालदेखि विद्यार्थी राजनीतिमा सक्रिय भएका उनी २०३६ सालको जनमतसंग्रह, २०४६ सालको जनआन्दोलन र २०६२–६३ सालको दोस्रो जनआन्दोलनमा सक्रिय सहभागी भएका थिए।
अर्थशास्त्रमा स्नातक गरेका श्रेष्ठ राजनीतिमा सक्रिय बनेपछि सामाजिक कार्यक्रममा पनि संलग्न हुँदै आएका थिए। उनी नेपाल रेडक्रसलगायतका सामाजिक संस्थामा आवद्ध थिए।
