लमजुङमा पहिरोले धन्सार पुरिँदा चार घाइते
काठमाडौं । लमजुङको मध्यनेपाल नगरपालिका–७ भाटबेशीमा कुलो भत्किँदा आएको पहिरोले धन्सार पुरिँदा एकै परिवारका चार जना घाइते भएका छन्।
मङ्गलबार बिहान करिब २ः३५ बजे चितिखोलाबाट भाटबेशीतर्फ ल्याइएको कुलो भत्किएर आएको पहिरोले स्थानीय विष्णुदत्त सुवेदीको ढुङ्गा–माटोले बनेको दुईतले कच्ची धन्सार पूर्ण रूपमा भत्काएको प्रहरीले जनाएको छ। धन्सारभित्र चार जना पुरिएको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय भोर्लेटारबाट प्रहरी निरीक्षक ध्रुवप्रसाद शर्माको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो।
प्रहरी टोलीले स्थानीयवासीको सहयोगमा पुरिएका चारै जनाको उद्धार गरी प्रारम्भिक उपचारका लागि चिसंखु स्वास्थ्य चौकी, रामबजार पुर्याएको थियो। त्यसपछि बिहान ४ः१० बजे थप उपचारका लागि उनीहरूलाई पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, पोखरा रिफर गरिएको प्रहरीले जनाएको छ।
घाइते हुनेमा मर्स्याङ्दी गाउँपालिका–१ नायुँ घर भई हाल मध्यनेपाल नगरपालिका–७ भाटबेशी बस्दै आएका ५० वर्षीया शुकमाया विक, ५९ वर्षीय टिकबहादुर विक, १५ वर्षीया बिनिता विक र १६ वर्षीया अस्मिता विक रहनसुभएको छ। घटनाबारे थप अनुसन्धान तथा क्षतिको विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ।
