सुनसरीका सिडिओ र सुरक्षा प्रमुखहरू फेरिए

काठमाडौं ।  सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा आइतवार राति भएको हिंसात्मक झडपपछि सरकारले प्रशासन र सुरक्षा संयन्त्रमा व्यापक हेरफेर गरेको छ । घटनालाई गम्भीर रूपमा लिँदै गृह मन्त्रालयले सुनसरीका प्रमुख जिल्ला अधिकारी सीडीओ वासुदेव घिमिरेसहित नेपाल प्रहरी र सशस्त्र प्रहरीका उच्च अधिकारीलाई फिर्ता बोलाएको छ ।

सोमवार बिहान गृहमन्त्री सुधन गुरुङको उपस्थितिमा बसेको बैठकले गृह मन्त्रालयका सहसचिव भूपेन्द्र थापाको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गर्ने निर्णय गरेको हो । समितिलाई घटनाको सत्यतथ्य छानबिन गरी भविष्यमा यस्ता घटना हुन नदिन आवश्यक दीर्घकालीन उपाय तथा सुझावसहित सात दिनभित्र प्रतिवेदन पेश गर्ने कार्यादेश दिइएको छ ।

आइतवार राति दुई समूहबीच भएको झडपले उग्र रूप लिएपछि सोमवार बिहान ७ बजेदेखि देवानगञ्ज र हरिनगर गाउँपालिकाका केही क्षेत्रमा अनिश्चितकालीन कफ्र्यु आदेश जारी गरेको थियो । तर, प्रदर्शनकारीले कफ्र्युको अवज्ञा गर्दै विभिन्न स्थानमा तोडफोड र आगजनी सुरु गरेपछि सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै नेपाली सेना परिचालन गरिएको छ । हतियारसहितको सेनाको टोली पुगेपछि अहिले कप्तानगञ्ज क्षेत्रको अवस्था विस्तारै सामान्य बन्दै गएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर