बडीमालिकामा तत्काल टेलिफोन र इन्टरनेट पुर्‍याउन निर्देशन

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले बाजुरा जिल्लाको प्रसिद्ध पर्यटकीय तथा धार्मिक स्थल बडीमालिका क्षेत्रमा तत्काल टेलिफोन र इन्टरनेट सुविधा पुर्‍याउन निर्देशन दिनुभएको छ।

सञ्चारमन्त्री डा. तिमिल्सिनाले बडीमालिकामा सञ्चार सुविधाको अभाव रहेको विषयमा गम्भीर चासो व्यक्त गर्दै नेपाल टेलिकमलाई अविलम्ब सेवा सञ्चालन गर्न निर्देशन दिनुभएको हो। सो क्षेत्रमा सडक सञ्चाली नभएकाले टेलिफोन टावरका लागि आवश्यक सामान हेलिकप्टरमार्फत ढुवानी गर्ने व्यवस्था मिलाउनसमेत उहाँले निर्देशन दिनुभएको छ।

मन्त्रालयमा शुक्रबार आयोजित छलफलमा नेपाल टेलिकमले आउँदो साउन महिनाभित्रै बडीमालिकामा टेलिफोन सेवा सञ्चालनमा ल्याउने प्रतिबद्धता व्यक्त गरेको छ। टावर निर्माणका लागि आवश्यक सामग्री धनगढीसम्म पुगिसकेको र नेपाली सेनाको हेलिकप्टर उपलब्ध हुनासाथ ढुवानी गरी काम अघि बढाइने टेलिकमले जनाएको छ।

सोही क्रममा मन्त्री डा. तिमिल्सिनाले प्रधानमन्त्रीका सूचना, सञ्चार तथा प्रविधि सल्लाहकार विवेक मिश्रसँग बडीमालिका लगायतका दुर्गम क्षेत्रमा सञ्चार सेवा विस्तार गर्नेबारे छलफल गर्नुभएको छ। उक्त छलफलमा गैरकानुनी अनलाइन सट्टेबाजी एप बन्द गर्ने तथा अनलाइन ठगी नियन्त्रणका विषयमा पनि विचार-विमर्श भएको थियो।

यस्तै, सञ्चारमन्त्रीले बडीमालिका नगरपालिकाका प्रमुख अमरबहादुर खड्कासँग स्थानीय पूर्वाधार र सडक सञ्जालको अवस्थाबारे जानकारी लिनुभएको छ। नेपाल टेलिकमले समुद्र सतहबाट चार हजार २०० मिटर उचाइमा रहेको बडीमालिका मन्दिर परिसरमा ४जी सेवा सञ्चालन गर्ने लक्ष्य राखेको छ। साथै, सगरमाथा आधार शिविर क्षेत्रमा पनि ४जी सेवा विस्तारका लागि अध्ययन भइरहेको टेलिकमले जनाएको छ।

सरकारको दुर्गम क्षेत्रमा सञ्चार पुर्‍याउने योजनाअन्तर्गत भर्खरै डोल्पाको ल्हान र दुनै तथा ताप्लेजुङको ओलाङचुङगोलामा सफलतापूर्वक फोरजी सेवा सञ्चालन भइसकेको छ। देशैभर डिजिटल विभाजन घटाउने उद्देश्यका साथ १६ सय नयाँ टेलिफोन टावर निर्माण प्रक्रिया अघि बढेको र यसका लागि नेपाल टेलिकमले आगामी आर्थिक वर्षमा छ अर्ब रुपियाँभन्दा बढी लगानी गर्ने भएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर