यस्तो छ आज राजमार्गहरूको अवस्था
काठमाडौं । बाढी र पहिरो खस्दा प्रमुख राजमार्ग तथा सडक खण्डहरू पूर्ण रूपमा अवरुद्ध भएका छन्। नेपाल प्रहरीले बिहीबार बिहान ९:३० बजेसम्म गरेको अपडेट अनुसार विभिन्न सडकहरू अवरुद्ध छन्।
बिपी राजमार्ग अन्तर्गत काभ्रेपलाञ्चोक र सिन्धुलीको खुर्कोट-नेपालथोक-कटुन्जेबेँसी सडक खण्डमा सम्पूर्ण सवारी साधन सञ्चालनमा पूर्ण रूपमा रोक लगाइएको छ। सम्भावित बाढीलाई मध्यनजर गर्दै अर्को सूचना नभएसम्मका लागि बेलुका ६:०० बजेदेखि बिहान ४:०० बजेसम्म सवारी साधन आवतजावत बन्द गरिएको छ भने बिहान ४:०० बजेदेखि बेलुका ६:०० बजेसम्म भने सवारी साधनहरू सुचारु हुनेछन्।
मकवानपुरको कान्ति लोकपथमा पनि वर्षातका कारण रातिको समयमा सबै किसिमका सवारी साधनहरूलाई रोक लगाइएको छ। बेलुका ५:०० बजेदेखि बिहान ०५:०० बजेसम्म अर्को सूचना नभएसम्मका लागि यो सडकमा आवतजावत बन्द गरिएको छ।
त्यस्तै, इलामको मेची राजमार्ग अन्तर्गत इलाम नगरपालिका-९, राजदुवालीमा वर्षाका कारण बाटो हिलो भएर सवारी साधन आवतजावत गर्न नसक्ने भएपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। यद्यपि, उक्त स्थानमा वैकल्पिक बाटो भने उपलब्ध रहेको छ।
सिन्धुपाल्चोकको अरनिको राजमार्ग दुई स्थानमा पूर्ण रूपमा अवरुद्ध भएको छ। भोटेकोशी गाउँपालिका-४, जिरोकिलोमा सडक माथिबाट पहिरो खसेको छ भने सोही गाउँपालिका-२ कोदारीस्थित ईकु पहिरोमा सडक माथिबाट ढुंगा माटोसहित लेदो खसेर बाटो अवरुद्ध भएको हो।
बागलुङस्थित कालीगण्डकी करिडोरको जैमिनी नगरपालिका-८, बेलबगर सडक खण्डमा पनि माथिबाट ढुङ्गा र माटोसहितको पहिरो खसेर बाटो पूर्ण रूपमा अवरुद्ध भएको छ।
दोलखाको लामासाँघु-रामेछाप राजमार्ग अन्तर्गत तामाकोशी गाउँपालिका-५, किर्नेटारस्थित सडक खण्डमा तामाकोशी खोलाको पानीको बहाव बढेर कटान गरेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। यसैगरी, मुगुको नाग्म-गमगडी सडक खण्ड अन्तर्गत छायानाथ रारा नगरपालिका-७, पिना खोलामा माथिबाट ढुङ्गासहितको पहिरो आएर बाटो पूर्ण रूपमा अवरुद्ध भएको छ।
