सर्वोच्चको अन्तरिम आदेशपछि सम्पत्ति छानबिन आयोग निष्क्रिय
काठमाडौं । सर्वोच्च अदालतको अन्तरिम आदेशपछि सम्पत्ति छानबिन आयोगले सम्पत्ति विवरण संकलन तथा छानबिनसम्बन्धी आफ्ना सम्पूर्ण काम-कारबाही हालका लागि स्थगित गरेको छ।
आयोगले बिहीबार एक सार्वजनिक सूचना जारी गर्दै अर्को व्यवस्था नभएसम्मका लागि काम रोकेको जनाएको हो। सर्वोच्च अदालतले गत बुधबार रिट निवेदनको अन्तिम टुङ्गो नलागेसम्म कसैको पनि सम्पत्ति विवरण संकलन र छानबिनसम्बन्धी कार्य नगर्नू र नगराउनू भनी अन्तरिम आदेश जारी गरेको थियो।
मनराम उपाध्यायको उत्प्रेषण निवेदनमाथि सुनुवाइ गर्दै अदालतले उक्त आदेश दिएको हो। यसअघि सर्वोच्च अदालतबाटै गत २९ असारमा भएको आदेशपछि आयोगले पूर्व न्यायाधीश, संवैधानिक निकायका पूर्व पदाधिकारी र नेपाली सेनाका पूर्व पदाधिकारी बाहेकका अन्य सार्वजनिक जवाफदेहीको पदमा रहेका राजनीतिक अधिकारी तथा कर्मचारीहरूको सम्पत्ति विवरण संकलन कार्य अगाडि बढाएको थियो।
२९ असारमा प्रकाशित सूचना नम्बर ४ बमोजिम भइरहेको सम्पत्ति विवरण संकलनको कामलाई पनि सर्वोच्चको पछिल्लो आदेशसँगै हाललाई स्थगित गरिएको केशरमहलस्थित आयोगको कार्यालयले जनाएको छ।
