इरानका बन्दरगाहमाथि पुनः अमेरिकी नाकाबन्दी
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका बन्दरगाहमाथि पुनः नाकाबन्दी लागू गर्ने घोषणा गर्दै हर्मुज जलडमरूमध्य हुँदै आवतजावत गर्ने सबै मालवाहक(कार्गो) जहाजमा २० प्रतिशत शुल्क लगाइने बताएका छन्। ट्रम्पको यस घोषणापछि इरानले त्यसको कडा विरोध गर्दै अमेरिकालाई हर्मुज जलडमरूमध्यको व्यवस्थापनमा कुनै हस्तक्षेप गर्न नदिने चेतावनी दिएको छ।
ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोशलुमार्फत अमेरिका अब हर्मुज जलडमरूमध्यको संरक्षकू हुने दाबी गरेका छन्। उनले इरानी जहाज तथा इरानसँग सम्बन्धित जहाजहरूको आवतजावत रोक्न पुनः इरानी नाकाबन्दी लागू गरिएको उल्लेख गरेका छन्।
उनका अनुसार अन्य सबै देशका जहाजलाई भने हर्मुज जलडमरूमध्य प्रयोग गर्न दिइनेछ। तर उक्त समुद्री मार्गको सुरक्षा व्यवस्थापनमा लाग्ने खर्च उठाउन अबदेखि त्यहाँबाट गुज्रने प्रत्येक कार्गो जहाजबाट २० प्रतिशत शुल्क असुल गरिनेछ। उनले यो व्यवस्था तत्काल लागू गर्ने प्रक्रिया सुरु गरिने पनि बताएका छन्।
यता, इरानको सर्वोच्च सैन्य मुख्यालय खातम अल-अम्बियाुले अमेरिकाको घोषणाप्रति कडा प्रतिक्रिया दिँदै हर्मुज जलडमरूमध्यमा अमेरिकाको बारम्बारको गतिविधिले सम्पूर्ण क्षेत्रीय सुरक्षामाथि गम्भीर खतरा उत्पन्न गरेको आरोप लगाएको छ।
इरानी सैन्य मुख्यालयले जारी गरेको विज्ञप्तिमा अमेरिकालाई उक्त रणनीतिक समुद्री मार्गमा कुनै पनि प्रकारको नियन्त्रण गर्न नदिइने स्पष्ट पारेको छ। साथै, अमेरिकासँग यस विषयमा कुनै पनि प्रकारको सहकार्यलाई इरानको सार्वभौमिकतामाथिको युद्धसरह मानिने चेतावनी दिइएको छ।
इरानले तनाव थप चर्किए त्यसको असर सम्पूर्ण मध्यपूर्व क्षेत्रका मुलुकहरूमा फैलिने र युद्धको आगो सबैलाई समेट्न सक्ने चेतावनी पनि दिएको छ।यो पहिलो पटक भने होइन। यसअघि अप्रिल महिनामा पनि अमेरिकी सेनाले इरानतर्फ जाने वा त्यहाँबाट आउने जहाजलाई रोक्ने वा फर्काउने नीति घोषणा गरेको थियो। त्यसबेला अमेरिकाले इरानको तेल निर्यातबाट हुने आम्दानी सीमित गर्दै आर्थिक दबाब बढाउने उद्देश्य राखेको जनाएको थियो।
यद्यपि संयुक्त राष्ट्रसंघअन्तर्गतको अन्तर्राष्ट्रिय समुद्री संगठन (आईएमओ)ले अन्तर्राष्ट्रिय जलमार्गका रूपमा प्रयोग हुने जलडमरूमध्यमा कुनै पनि देशलाई एकतर्फी रूपमा जहाजको आवागमन रोक्ने कानुनी अधिकार नभएको स्पष्ट पार्दै आएको छ।
यसअघि गत जुन १७ मा अमेरिका र इरानबीच भएको अन्तरिम समझदारी ९मेमोरान्डम अफ अन्डरस्ट्यान्डिङ० मा नाकाबन्दी हटाउने तथा हर्मुज जलडमरूमध्य पुनः खुला राख्ने सहमति भएको थियो। तर ट्रम्पको पछिल्लो घोषणाले उक्त सहमतिको भविष्यलाई लिएर नयाँ अन्योल सिर्जना गरेको छ। यद्यपि, हर्मुज जलडमरूमध्य हुँदै गुज्रने सबै कार्गो जहाजबाट २० प्रतिशत शुल्क व्यवहारमा कसरी उठाइने भन्ने विषयमा ट्रम्प प्रशासनले हालसम्म कुनै स्पष्ट कार्यविधि सार्वजनिक गरेको छैन।
