गणेश नेपालीको मृत्युलाई लिएर गृहमन्त्री सुधन गुरुङ भावुक
काठमाडौं । गणेश नेपालीको निधनपछि संसद्को रोस्ट्रममा पुगेका गृहमन्त्री सुधन गुरुङ भावुक बनेका छन् । शुक्रबार प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्न पुगेका उनी रोस्ट्रममा पुग्नासाथ केहीबेर भावुक बनेका हुन् ।
‘मैले धेरै साथीहरू देखेँ, यहाँ उभिएर घाँटी सुक्ने गरी चिच्याइ-चिच्याइ कराइरहनुभएको छ, हिजो अस्पतालमा कति जना हुनुहुन्थ्यो’, गुरुङले भने, ‘मुखले चिच्याएर हुँदैन, म स्टन्ड गर्न आएको होइन, देशको सेवा गर्न आएको हो ।’
उनले सदनमा प्रश्न उठाउनु अघि बिहीबार राति वीर अस्पतालमा को को पुगे भनेर प्रश्न समेत गरे । उनले नेपालीलाई बचाउन पहल गरेको बताए । तर, बचाउन नसकिएको उनको भनाइ छ । गृहमन्त्री गुरुङले कसैको पीडामा राजनीतिकरण गर्न सांसदलाई आग्रह गरे ।
‘कसैको पीडामाथि राजनीतिक नगर्नुहोस् । देश बनाउन सबै सक्रिय बन्नुपर्छ । आफ्नो दायित्त्वबाट सरकार एक इन्च पनि पछाडि पर्दैनौँ । सरकारले अथक प्रयास गर्दागर्दैै गणेश नेपाली हामीमाझ हुनुहुन्न । तपाईंहरुले प्रश्न गर्नुभयो । हामीले अन्तिम समयसम्म प्रयास गरेका छौँ’, गृहमन्त्री गुरुङले भने । योसँगै गृहमन्त्रीले घटनाको विवरण सदनसमक्ष पेश गरे ।
