गणेश नेपालीको मृत्युबारे वीर अस्पतालको आधिकारिक भनाइ

काठमाडौं । वीर अस्पतालले त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाह प्रयास गरेका मुगुको सोरु गाउँपालिका–१ निवासी २५ वर्षीय गणेश नेपालीको उपचारका क्रममा निधन भएको औपचारिक जानकारी दिएको छ।

वीर अस्पतालले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै शरीरको करिब ५५ प्रतिशत भाग गम्भीर रूपमा जलेका (Severe Burn) नेपालीको शुक्रबार बिहान ११ः१९ बजे उपचारकै क्रममा मृत्यु भएको जनाएको हो।

अस्पतालका अनुसार बिहीबार आकस्मिक कक्षमा भर्ना गरिएपछि उनलाई तत्काल सघन उपचार कक्ष (आईसीयू) मा राखी मेकानिकल भेन्टिलेटरको सहायतामा चौबीसै घण्टा उपचार गरिएको थियो। प्लास्टिक सर्जरी, एनेस्थेसिया र क्रिटिकल केयर विभागका वरिष्ठ विशेषज्ञ चिकित्सक तथा नर्सिङ टोलीले उनको जीवन बचाउन सबै सम्भव प्रयास गरेको वीर अस्पतालको भनाइ छ ।

उच्चस्तरीय उपचारका लागि विदेश लैजाने तयारीसमेत भइरहेका बेला स्वास्थ्य अवस्थामा अचानक गम्भिर जटिलता देखिएपछि चिकित्सकहरूले तत्काल कार्डियोपल्मोनरी रिससिटेसन (सीपीआर) तथा अन्य जीवनरक्षक उपचार गरेका थिए। तर निरन्तरको प्रयासका बाबजुद उनको स्वास्थ्यमा सुधार आउन नसकेको अस्पतालले जनाएको छ।

bir

गणेश नेपालीको मृत्युबारे निष्पक्ष छानबिन र क्षतिपूर्तिको व्यवस्था गर्न प्रलोपाको माग

प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)ले मुगुका गणेश नेपालीको मृत्युप्रति गहिरो दुःख व्यक्त गर्दै घटनाको निष्पक्ष छानबिन गर्न र पीडित परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग माग गरेको छ।

पार्टीले शुक्रबार प्रेस वक्तव्य जारी गर्दै रोजगारीको सिलसिलामा काठमाडौं आएका नेपालीको मृत्युले राज्यको नागरिकप्रतिको दायित्व र संवेदनशीलतामाथि गम्भीर प्रश्न उठाएको जनाएको छ। पार्टी प्रवक्ता लक्ष्मी गुरुङद्वारा जारी वक्तव्यमा गरिब तथा श्रमिक वर्गमाथि राज्यका निकायबाट हुने व्यवहारप्रति गम्भीर चिन्ता व्यक्त गर्दै यस्ता घटना दोहोरिन नदिन प्रभावकारी कदम चाल्न सरकारलाई आग्रह गरिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर