आज ११ वटा जिल्लामा आकस्मिक बाढीको सम्भावना
काठमाडौं । देशका केही जिल्लामा आज असार २६ गते बिहीबार ११ वटा जिल्लामा आकस्मिक बाढीको जोखिमको पूर्वानुमान छ । कतिपय सानाठूला नदीमा पानीको बहाव उल्लेख्य बढ्ने सम्भावना रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
“आज इलाम, झापा, सोलुखुम्बु, धनकुटा, तेह्रथुम, ओखलढुंगा, खोटाङ, संखुवासभा, दोलखा, रामेछाप, सिन्धुपाल्चोक र आसपासका जिल्ला भई बहने ससाना नदीहरूको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम सम्भावना छ”, महाशाखाद्वारा जारी सूचनामा उल्लेख छ । आज कोशी, नारायणी, कर्णाली, महाकाली, कन्काई, कमला, बागमती, राप्ती, बबईलगायत देशका अधिकांश ठूला नदीको बहाव पनि उल्लेख्य बढ्ने महाशाखाको पूर्वानुमान छ ।
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । “हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा केही माथि रहेको छ र आगामी दिनमा यो बिस्तारै नेपाल नजिकिँदै जाने सम्भावना रहेको छ”, महाशाखाले जनाएको छ ।
