ट्राफिक प्रहरीको दाबी : गणेश नेपालीलाई जरिवाना गरिएको छैन
काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले गणेश नेपालीले गरेको आत्मदाह प्रयासको घटनालाई ट्राफिक कारबाहीसँग जोडेर सार्वजनिक गरिएका समाचार तथा सामाजिक सञ्जालका सामग्री तथ्यमा आधारित नभएको जनाएको छ।
कार्यालयले शुक्रबार जारी गरेको विज्ञप्तिमा गणेश नेपालीलाई ट्राफिक प्रहरीले कुनै जरिबाना नगरेको स्पष्ट पार्दै घटनालाई ट्राफिक कारबाहीको परिणामका रूपमा प्रस्तुत गर्नु भ्रामक भएको उल्लेख गरेको छ। प्रारम्भिक अनुसन्धानबाट पनि ट्राफिक प्रहरीले जरिबाना गरेको वा उक्त घटनासँग ट्राफिक कारबाहीको प्रत्यक्ष सम्बन्ध रहेको पुष्टि नभएको कार्यालयको दाबी छ।
मुगुको सोरु गाउँपालिका–१ स्थायी घर भएका २५ वर्षीय गणेश नेपालीले बिहीबार त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरेका थिए। उक्त घटनापछि विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा ट्राफिक जरिबानाका कारण उनले यस्तो कदम चालेको भन्ने दाबी सार्वजनिक भएको थियो।
ट्राफिक प्रहरीका अनुसार घटनाको वास्तविक कारण पत्ता लगाउन सम्बन्धित निकायले कानुनी प्रक्रियाअनुसार अनुसन्धान अघि बढाइरहेको छ। अनुसन्धान नसकिँदै आधिकारिक पुष्टि नभएका विवरण सार्वजनिक गर्दा नागरिकमा भ्रम फैलिन सक्ने भएकाले अपुष्ट सूचना वा अफवाहमा विश्वास नगर्न कार्यालयले आग्रह गरेको छ।
