आत्मदाह गर्ने व्यक्ति राहदानी सेवा लिन आएका होइनन् : विभाग
काठमाडौं । राहदानी विभागले बिहीबार दिउँसो विभागको गेटबाहिर आत्मदाहको प्रयास गर्ने व्यक्ति राहदानी सेवा लिन नआएको स्पष्ट पारेको छ । रादहानी सेवा लिन आएको व्यक्तिले आत्मदाहको प्रयास गरेको भन्ने अफवाह फैलिएपछि विभागले विज्ञप्ति जारी गर्दै घटनाका सम्बन्धमा स्पष्ट पारेको हो ।
बिहीबार दिउँसो अन्दाजी १ः३८ बजेको समयमा काठमाडौं महानगरपालिका–११ त्रिपुरेश्वरमा एक व्यक्तिले आफ्नै शरीरमा आगो लगाई घाइते भएको घटनाप्रति विभागको ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ ।
“उक्त घटनाको सम्बन्धमा राहदानी विभागको सीसीटीभी फुटेज तथा प्रत्यक्षदर्शीहरू र सम्बन्धित निकायबाट प्राप्त जानकारीअनुसार घाइते हुनुभएका व्यक्ति राहदानी/कन्सुलर सेवा लिन आएको नदेखिएको प्रारम्भिक जानकारी प्राप्त हुन आएको बेहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ”, विभागले विज्ञप्तिमा उल्लेख गरेको छ ।
