आमाको दूध विस्थापन गर्ने वस्तु बेच्न नपाइने
काठमाडौं । शिशुको स्वास्थ्य र पोषण संरक्षणका लागि आमाको दूधको विकल्पका रूपमा प्रयोग हुने अन्य वस्तु जथाभावी बेच्न नपाइने भएको छ । फिदिममा आयोजित जिल्ला स्वास्थ्य कार्यालय पाँचथरले फिदिममा आयोजना गरेको ‘आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तुहरूको बिक्री वितरण नियन्त्रण ऐन, २०४९ तथा नियमावली, २०५७’ सम्बन्धी अभिमुखीकरण कार्यक्रममा यस्तो बताइएको हो ।
जिल्ला स्वास्थ्य कार्यालय पाँचथरका प्रमूख महेश सुनारले खुद्रा वा थोक बिक्रतासँगै औषधी व्यवसायीले यस्ता सामग्री हानिकारक सँगै आमा र बच्चाको स्वास्थ्यका लागि प्रत्युत्पादक हुने भएकाले त्यस्ता बस्तु बेच्नेलाई कारबाही हुने जानकारी बताउनुभयो । त्यस्ता वस्तुको बिक्री, वितरण मात्रै नभएर प्रचारप्रसार गर्दा समेत कानुनी व्यवस्था अनुसार कडाइ गर्नुपर्नेमा उहाँको भनाई थियो ।
जिल्ला स्वास्थ्य कार्यालय पाँचथरले आयोजना गरेको ‘आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तुहरूको बिक्री वितरण नियन्त्रण ऐन, २०४९ तथा नियमावली, २०५७’ सम्बन्धी अभिमुखीकरण कार्यक्रममा सहभागीहरूले व्यावसायिक प्रचारका कारण स्तनपान संस्कृतिमा असर पर्न नदिन ऐनको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको बताए ।
कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख महेश सुनारले आमाको दूध शिशुको पहिलो र सर्वोत्तम आहार भएकाले त्यसको विकल्पका रूपमा प्रयोग हुने वस्तुको अनियन्त्रित प्रचारप्रसार तथा बिक्री वितरण कानुनले नियमन गरेको जानकारी दिनुभयो । उहाँले स्तनपानको संरक्षण गर्नु शिशुको पोषण मात्र नभई सार्वजनिक स्वास्थ्यको महत्वपूर्ण दायित्व समेत भएको बताउनुभयो ।
सहभागी स्वास्थ्यकर्मीहरूले जन्मेको पहिलो एक घण्टा भित्र स्तनपान सुरु गरी कम्तीमा छ महिनासम्म केवल आमाको दूध मात्र खुवाउनु पर्नेमा जोड दिए । यसले शिशुलाई आवश्यक पोषण, रोग प्रतिरोधात्मक क्षमता तथा स्वस्थ शारीरिक र मानसिक विकासका लागि आधार तयार गर्ने उनीहरूको भनाइ थियो ।
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख डाक्टर दिलिप यादवले विशेष परिस्थितिमा आमाको दूध पर्याप्त नभए चिकित्सक वा स्वास्थ्यकर्मीको परामर्श अनुसार मात्रै वैकल्पिक उपाय अपनाउनु पर्ने बताउनुभयो ।
कार्यक्रममा औषधी व्यवसायीलाई चिकित्सकको सिफारिस बिना आमाको दूधको विकल्पका रूपमा प्रयोग हुने वस्तुको बिक्री नगर्न आग्रह गरिएको छ। साथै निजी अस्पताल र स्वास्थ्य संस्थामा स्तनपान कक्ष तथा पोषण कर्नर स्थापना गरी स्तनपान मैत्री वातावरण निर्माण गर्न सुझाव दिइएको छ।
जिल्ला समन्वय समिति पाँचथरका प्रमूख रामराज आङदेम्वेको प्रमूख आतिथ्यमा सम्पन्न कार्यक्रममा प्रमूख जिल्ला अधिकारी, स्वास्थ्यकर्मी, औषधी व्यवसायी, पत्रकार, स्थानीय तहका प्रतिनिधि तथा विभिन्न सरकारी कार्यालयका प्रमुखहरूको सहभागिता रहेको थियो ।
