ह्विल लक लगाएपछि आत्मदाहको प्रयास !

काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि पार्किङ गरिएको मोटरसाइकलमा नगर प्रहरीले ह्विल लक लगाएपछि विवाद हुँदा एक युवकले आत्मदाहको प्रयास गरेका छन् । राइड शेयरिङका क्रममा रहेका २५ वर्षीय गणेश नेपालीले बिहीबार दिउँसो आफ्नै शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेका हुन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईका अनुसार मुगुको सोरु गाउँपालिका वडा नं १ का स्थायी बासिन्दा नेपाली हाल भक्तपुरमा बस्दै आएका थिए । उनले  राइड शेयरिङ गरेरराहदानी विभागको ३ नम्बर गेट नजिकै आफ्नो मोटरसाइकल रोकेका थिए ।

निषेधित क्षेत्रमा पार्किङ गरेको भन्दै नगर प्रहरीले ह्विल लक लगाएपछि उनीहरूबिच विवाद भएको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै एसपी भट्टराईले जानकारी दिए । नगर प्रहरीसँगको विवादपछि आक्रोशित बनेका नेपालीले मोटरसाइकलबाट पेट्रोल निकालेर दिउँसो करिब १:४५ बजे आफ्नै शरीरमा छर्किएर आगो लगाएका थिए ।

घटनास्थलमा खटिएको प्रहरी टोलीले तत्काल आगो निभाएर उनलाई उद्धार गरी उपचारका लागि वीर अस्पताल पुर्‍याएको थियो । प्रहरीका अनुसार आगोले जलेर गम्भीर घाइते भएका नेपालीको अवस्था चिन्ताजनक रहेको र हाल अस्पतालमा उपचार भइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर