बाढीबाट तमोर कोरिडोर अवरुद्ध
काठमाडौं । अविरल वर्षाका कारण धनकुटा र पाँचथरको सीमामा बग्ने नावा खोलामा पानीको बहाव उच्च भएपछि तमोर कोरिडोर अवरुद्ध भएको छ। सुनसरीको धरानदेखि धनकुटाको मुलघाट हुँदै पाँचथर र ताप्लेजुङलाई जोड्ने द्रुतमार्गका रूपमा परिचित यो सडक बिहीबार बिहान करिब ५ः३० बजेदेखि अवरुद्ध भएको हो।
पाँचथरको तुम्बेवा गाउँपालिका–२ स्थित नावा खोलामा पानीको सतह एक्कासि बढेपछि खोलामाथिको सडक डुबानमा परेको र सवारीसाधन सञ्चालन पूर्ण रूपमा रोकिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक अनिषकुमार कर्णका अनुसार लगातारको वर्षासँगै आएको बाढीका कारण तमोर कोरिडोर तत्कालका लागि अवरुद्ध भएको हो। पानीको बहाव अत्यधिक रहेकाले यात्रु तथा सवारी चालकलाई जोखिमपूर्ण यात्रा नगर्न उहाँले आग्रह गर्नुभयो।
पूर्वी पहाडी जिल्लालाई जोड्ने महत्त्वपूर्ण सडक अवरुद्ध हुँदा पाँचथर, धनकुटा र ताप्लेजुङतर्फको आवागमन प्रभावित भएको छ। बिहानदेखि यात्रुवाहक तथा मालवाहक सवारीसाधन दुवैतर्फ रोकिएका छन्।
वर्षा नरोकिएकाले खोलाको बहाव अझ बढ्न सक्ने सम्भावनालाई ध्यानमा राख्दै नदी आसपासका बासिन्दा तथा यात्रुलाई उच्च सतर्कता अपनाउन प्रहरीले आग्रह गरेको छ। पानीको सतह घटेपछि सडकको अवस्था मूल्याङ्कन गरी सवारी सञ्चालन पुनः सुचारु गरिने जनाइएको छ।
मनसुन सक्रिय भएसँगै पहाडी जिल्लाका नदी तथा खोलामा पानीको बहाव बढ्दो क्रममा रहेकाले अत्यावश्यकबाहेकको यात्रा गर्दा मौसम र सडकको अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न जिल्ला प्रशासनले अनुरोध गरेको छ।
