सभामुख अर्याल रिसले चूर, बैठक स्थगित
काठमाडौं । प्रतिनिधिसभाको बैठक स्थगित भएको छ। एमाले सांसद राजेन्द्र राईले सभामुखलाई तपाईँ कान सुन्नुहुन्छ कि हुन्न ? भनेर सोधेपछि विवाद भएपछि सभामुखले १५ मिनेटका लागि बैठक स्थगित गरेका हुन् ।
यो अभिव्यक्तिप्रति आपत्ति जनाउँदै सभामुखले राईलाई बोल्न समय दिएनन् । सभामुखले राईलाई बोल्न रोकेपछि एमालेका सांसदहरूले उठेर विरोध जनाए। सत्तारुढ दलकी सांसद ज्वाला सङ्ग्रौलाले पनि राईको अभिव्यक्ति रेकर्डबाट हटाउन माग गरिन्।
त्यसपछि सभामुखले माफी मागेर आफ्नो भनाइ सच्च्याउन भन्दै राईलाई दोस्रो पटक बोल्न समय दिए। तर, उनले सभामुखको भूमिकामाथि नै प्रश्न उठाउँदै ५ वर्ष सदन चलाउन नसक्ने बताइदिए। ‘तपाईँले ५ वर्ष सदन चलाउन सक्नुहुन्न, मैले खुट्टी हेरिसकेँ, तपाईँले कुरा सुन्न पर्दैन?’ भन्दै प्रश्न गरेपछि सभामुखले बैठक रोके।
राईले अभिव्यक्ति नरोकेपछि सभामुखले ‘सभामुखको अपहेलना गर्दै हुनुहुन्छ’ भन्दै उनको अभिव्यक्तिलाई बिचैमा रोक्दै अर्का सांसद परशुराम तामाङलाई समय दिएका थिए । त्यसपछि विपक्षीको विरोध कायमै रहेपछि सभामुख रिसले चुर हुँदै संसद् स्थगन गरे ।
प्रतिक्रिया
