नौबिसे–मलेखु सडक खण्डले गति लिँदै

काठमाडौं ।  नागढुङ्गा–मुग्लिङ सडक विस्तार आयोजनाअन्तर्गत नौबिसे–मलेखु खण्डको निर्माण कार्यले गति लिएको छ । कुल ४३ किलोमिटर लम्बाइ रहेको यस खण्डमध्ये हालसम्म २५ किलोमिटर कालोपत्रे र २ किलोमिटर ढलान (रिजिड पेभमेन्ट) गरी कुल २७ किलोमिटर सडक निर्माण सम्पन्न भएको छ ।

नागढुङ्गा–मुग्लिङ सडक योजना (पूर्वी खण्ड) का योजना प्रमुख केशव ओझाका अनुसार यस खण्डको समग्र भौतिक प्रगति ६० प्रतिशत पुगेको छ । आयोजनाले चालु आर्थिक वर्षमा ७५ प्रतिशत भौतिक प्रगति हासिल गर्ने लक्ष्य राखेको भए पनि अन्तर्राष्ट्रिय बजारमा देखिएको बिटुमिन अभावका कारण लक्ष्य प्राप्तिमा केही अवरोध भएको थियो । मध्यपूर्वमा उत्पन्न तनावका कारण बिटुमिन आपूर्तिमा समस्या भए पनि हाल पूर्वाधार विकास मन्त्रालयको सहजीकरणपछि आपूर्ति सहज भएकाले निर्माण कार्यले पुनः गति लिएको उहाँले बताउनुभयो ।

उहाँका अनुसार पहिलो खण्डअन्तर्गत पर्ने नागढुङ्गा–नौबिसे सडकको भौतिक प्रगति ८८ प्रतिशत पुगिसकेको छ । दोस्रो खण्ड (नौबिसे–मलेखु) मा हालसम्म सम्पन्न २५ किलोमिटर कालोपत्रेमध्ये २।५ किलोमिटर दुई लेनमा गरिएको छ भने बाँकी २२.५ किलोमिटर सडकको पूर्ण चौडाइमा कालोपत्रे गरिएको छ ।

उहाँले भन्नुभयो, “हामीले ४३ किलोमिटरमध्ये २५ किलोमिटर कालोपत्रे गरिसकेका छौँ । २ किलोमिटर ढलान पनि सम्पन्न भएको छ । मौसम अनुकूल रहे वर्षाअघि नै थप काम सम्पन्न गर्ने लक्ष्य छ । पहिलो प्याकेजअन्तर्गत नागढुङ्गादेखि नौबिसेसम्मको प्रगति करिब ८८ प्रतिशत पुगेको छ भने समग्र आयोजना ६० प्रतिशत सम्पन्न भएको छ ।”

निर्माण कम्पनीका प्रोजेक्ट म्यानेजर ज्ञानेन्द्र घिमिरेले मौसमले साथ दिए आगामी केही दिनभित्र थप ६ किलोमिटर सडक कालोपत्रे गर्ने लक्ष्य रहेको जानकारी दिनुभयो । उहाँका अनुसार बिटुमिन आपूर्ति सहज भएपछि नौबिसे–मलेखु खण्डमा मात्रै थप ३.३ किलोमिटर सडक कालोपत्रे गरिएको छ ।

उहाँले भन्नुभयो, “हालसम्म २७ किलोमिटर काम सम्पन्न भएको छ । २५ किलोमिटर कालोपत्रे र २ किलोमिटर ढलान गरिएको छ । मौसमले साथ दिएसम्म काम नरोक्ने हाम्रो लक्ष्य हो । बिटुमिनको नियमित आपूर्ति र अनुकूल मौसम भए निर्माण कार्य अझ तीव्र रूपमा अघि बढ्छ ।”

हाल निर्माण कम्पनीले दैनिक ४०० देखि ५०० मिटरसम्म सडक कालोपत्रे गर्ने क्षमताका साथ काम गरिरहेको छ । प्रतिकूल मौसम र प्राविधिक चुनौतीका बाबजुद आयोजनाले चालु आर्थिक वर्षको अन्त्यसम्म ६५ प्रतिशत भौतिक प्रगति हासिल गर्ने संशोधित लक्ष्य लिएको छ । वर्षायाम सुरु हुनुअघि उत्खनन गरिएका पुराना पिच खण्ड पुनः कालोपत्रे गरी सवारी आवागमन सहज बनाउने कार्यलाई आयोजनाले उच्च प्राथमिकतामा राखेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर